काठमाडौं, नेपाल सरकारले ११ देशमा कार्यरत आफ्ना राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ, जसले सरकारको कूटनीतिक नियुक्तिमा ठूलो फेरबदलको संकेत गर्दछ। बिहीबार (२०८२ असोज २५ गते) बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो, जसअनुसार राजदूतहरूलाई २०८२ कात्तिक २० गतेभित्र नेपाल फर्कन निर्देशन दिइएको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलका अनुसार फिर्ता गरिने राजदूतहरूमा चीनका कृष्णप्रसाद ओली, जर्मनी शैल रुपाखेती, इजरायल धनप्रसाद पण्डित, मलेसिया डा. नेत्रप्रसाद तिमल्सिना, कतार रमेशचन्द्र पौडेल, रुसका जंगबहादुर चौहान, साउदी अरबका नरेशविक्रम ढकाल, स्पेनका शनिल नेपाल, बेलायतका चन्द्रकुमार घिमिरे, अमेरिका लोकदर्शन रेग्मी, र जापान डा. दुर्गाबहादुर सुवेदी रहेका छन्।
यीमध्ये अधिकांश राजनीतिक नियुक्तिका आधारमा विदेश पठाइएका राजदूत हुन् भने केही परराष्ट्र सेवाबाट चयन गरिएका छन्। सरकारको यो निर्णय हालको विदेश नीति अनुरूप कूटनीतिक प्रतिनिधित्वलाई पुनः संरचना गर्न र नयाँ नियुक्तिको मार्ग प्रशस्त गर्न गरिएको विश्लेषण गरिएको छ।