काठमाडौं, नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज झण्डै दुई घण्टा ढिलो गरी सुरु भएको छ । बैठक कार्यबाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा सञ्चालन भइरहेको छ ।
२८ गतेबाट औपचारिक रूपमा सुरु भएको बैठकमा आजदेखि एजेन्डा अनुसार छलफल अघि बढाइएको हो । मुख्य रूपमा पार्टीको १५औं महाधिवेशनको तयारीबारे आजको बैठकमा छलफल हुँदैछ । मंसिरभित्र नियमित महाधिवेशन गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि पार्टीभित्र यसबारे दुईथरी मत देखिएको छ— समयमै गर्नुपर्ने भन्ने पक्ष र परिस्थिति नबनेकाले सार्नुपर्ने भन्ने पक्ष ।
बैठकको अर्को मुख्य एजेन्डा हालैको जेनजी आन्दोलन र त्यसपछिका राजनीतिक घटनाक्रमहरू हुन् । यो आन्दोलनपछि पहिलोपटक बस्न लागेको केन्द्रीय समिति बैठकमा प्रतिनिधिसभा विघटन तथा घोषित निर्वाचनका बारेमा समेत छलफल हुने भएको छ ।
जेनजी आन्दोलनको दोस्रो दिनमा तोडफोड र आगजनीका कारण क्षतिग्रस्त भएका पार्टी केन्द्रीय कार्यालयसहित अन्य शाखा कार्यालयहरूको पुनर्निर्माणबारे पनि बैठकमा विमर्श गरिनेछ ।
अन्य एजेन्डामा देशको शान्ति सुरक्षा, प्राकृतिक विपत्तिको अवस्था, कार्यसम्पादन समितिका निर्णयहरूको अनुमोदन र विविध विषयहरू समेत समावेश गरिएको छ ।