काठमाडौं, रवि लामिछाने जोडिएका सहकारीका फाइल जेन जी आन्दोलनमा नजलेको अवस्थामा भेटिएका छन । भदौँ २४ गते भएको जेन जी आन्दोलनमा रविका फाइलहरु छानीछानी जलाइएको आरोप लागेपनि केहीँ अदालतका फाइलहरु सग्लै अवस्थामा भेटिएका हुन ।
रास्वपा सभापति रवि लामिछाने जोडिएको स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिनासम्बन्धी फाइल भने सग्लै भेटिएको खुलेको हो । केहीँ जिल्लाका फाइलहरु जलेपनि केहीँ जिल्लाका फाइलहरु भने सग्लै अवस्थामा भेटिएको खुलेको छ । रवि लामिछाने विरुद्ध विभिन्न ५ ओटा जिल्लामा सहकारीको रकम अपचलन गरेको आरोप रहेको छ,त्यो मध्ये काठमाडौँमा रहेको स्वर्णलक्ष्मी सहकारीको आरोप पनि एक हो ।
काठमाडौँमा रहेको स्वर्णलक्ष्मी सहकारीका फाइलहरु नजलेको जिल्ला अदालतका एक कर्मचारीले जानकारी दिएका छन । उनका अनुसार अनुसार धरौटी माग गर्ने जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन परेपछि स्वर्णलक्ष्मी सहकारीको फाइल पठाइएको थियो । त्यो फाइल फिर्ता आएपछि सम्बन्धित फाँटमा पुग्नै नपाएकाले जल्नबाट जोगिएको हो । स्वर्णलक्ष्मी सहकारीको बचत ठगीसम्बन्धी अनुसन्धान गरेको प्रहरी वृत्त कालीमाटीमा समेत प्रदर्शनकारीले २४ भदौमा आगजनी गरेका थिए ।
काठमाडौं जिल्ला अदालतमा रहेका नक्कली भुटानी शरणार्थी, सिभिल सहकारी, ललिता निवासमा लिखत किर्ते, बाल मन्दिर जग्गा प्रकरण, ६१ किलो सुन तस्करीजस्ता चर्चित मुद्दाका मिसिल नष्ट भएको खुलेको हो ।
सर्वोच्च अदालतमा रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहालविरुद्ध सशस्त्र द्वन्द्वको हत्यासम्बन्धी, ५२ संवैधानिक पदाधिकारीको फैसलाको पूर्णपाठ, छायादेवी कम्प्लेक्स, सुडान काण्ड, वाइडबडी विमान खरिद, मैना सुनुवारको हत्या, अन्तःशुल्क, एनसेलको करजस्ता चर्चित मुद्दाका फाइल पनि नष्ट भएका छन् । सर्वोच्चको संवैधानिक इजलासका फाइल, अभियान फाँटका मुद्दा पनि जलेका छन् ।
गत भदौँको २३ र २४ गते भएको जेन जी आन्दोलनमा नेपालमा ठुलो विध्वंश मच्चिएको छ । तत्कालीन ओली सरकार विरुद्ध जेन जीहरु सडकमा आएपछि आन्दोलन नै अनियन्त्रित भएको थियो जसले गर्दा नेताहरुको भागाभाग हुनुका साथै धेरै संरचनाहरु जलेका छन । आन्दोलनकारीहरुले नेताहरुका घर,सरकारी संरचना र व्यापारीक भवनहरुलाई टार्गेटमा राख्दै आगजनी गरेका थिए ।
आन्दोलनकारीले भदौँ २४ गते विभिन्न अदालतमा आगजनी र तोडफोड गर्दा करिब ९ लाख ३३ हजार मुद्दाका मिसिल समेत नष्टभएको खुलेको छ । आगजनी र तोडफोड गरिएका सबै अदालतमा गरी चालुतर्फ ३० हजार ७ सय ५२ र अभिलेखतर्फ ९ लाख ३ हजार ७१ मिसिल गुमेको सर्वोच्च अदालतको प्रारम्भिक विवरण छ ।