काठमाडौं, जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेश प्रदेश सभा सदस्य सरोज सिंह कुशवाहा फेरि एकपटक पक्राउ परेका छन् । सांसद विकास कोषको रकम दुरुपयोग गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अख्तियार) ले उनलाई पुनः पक्राउ गरेको हो ।
कुशवाहामाथि सांसद विकास कोषको रकमबाट ३७ प्रतिशतसम्म कमिसन आफ्नो खातामा स्थानान्तरण गरेको गम्भीर आरोप छ । पूर्वगृहराज्यमन्त्री समेत रहेका उनी यसअघि पनि यही आरोपमा पक्राउ परेका थिए तर पछि तारेखमा छुटेका थिए । अहिले भने विशेष अदालतमा मुद्दा दर्ता गर्नका लागि उनलाई पक्राउ गरिएको अख्तियार स्रोतले जानकारी दिएको छ ।
महोत्तरी क्षेत्र नम्बर ४ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित कुशवाहाको घरमा अख्तियारले १२ जेठमा छापा मारेको थियो । सो क्रममा उनका स्वकीय सचिव विनोदकुमार लाल कायस्थ पनि पक्राउ परेका थिए । अनुसन्धान टोलीले त्यतिबेला विभिन्न योजनासम्बन्धी कागजात बरामद गर्नुका साथै मोबाइल उपकरणहरू नियन्त्रणमा लिएर डिजिटल फरेन्सिक परीक्षणका लागि पठाएको थियो ।
उनी यसअघि २० जेठमा काठमाडौंको अनामनगर क्षेत्रबाट पनि पक्राउ परेका थिए । पछिल्लोपटक भने उनीमाथि विशेष अदालतमा मुद्दा दायर गर्ने तयारीस्वरूप पक्राउ गरिएको स्पष्ट पारिएको छ ।