काठमाडौँ, जेन-जी आन्दोलनका क्रममा आगजनी र तोडफोडले पूर्णरूपमा ध्वस्त भएका वीरेन्द्रनगर नगरपालिकाका १२ वटा वडा कार्यालय अझैसम्म पनि पुनःसञ्चालनमा आउन सकेका छैनन्। एक महिनाभन्दा बढी समय बितिसक्दा पनि नगरपालिकाले वडास्तरमै सेवा बहाल गर्न चासो नदेखाएको भन्दै जनप्रतिनिधि र सेवाग्राहीले गुनासो गरेका छन्।
नगरपालिकाले हाल जिल्ला समन्वय समितिको हलबाट वडा नम्बर १ देखि १२ सम्मका सेवा एकीकृत रूपमा प्रदान गरिरहेको छ। तर एउटै कोठाबाट सबै सेवा दिनु परेपछि दैनिक सेवा लिन आउने सर्वसाधारणलाई ठूलो सास्ती भइरहेको छ।
"वडा कार्यालय नहुँदा सेवाग्राही टाढाटाढाबाट अटोरिक्सा रिजर्भ गरेर आउन बाध्य छन्," वडा नं १ का अध्यक्ष दिनेश खत्रीले भने। उनले नगरपालिकाले वडा कार्यालय पुनःस्थापनामा बेवास्ता गरेको आरोप समेत लगाए।
वडा नं १२ का अध्यक्ष चूडामणि चपाईका अनुसार जेष्ठ नागरिक, बालबालिका, मृत्युदर्ता, बसोबास, सिफारिस लगायतका दैनिक सेवा लिन आउनेहरू सामान्य त्रुटिका कारण पुनः फर्किन बाध्य छन्। "सामान्य कागज नमिले पनि मानिसहरू दिनभर लाइन बसेर निराश हुँदै फर्किन्छन्," उनले दुखेसो पोखे।
गत महिना भएको आगजनीमा वडा कार्यालयका कागजात, फर्निचर, कम्प्युटर लगायतका सामग्री पूर्ण रूपमा नष्ट वा चोरी भएका थिए। त्यसयता वडा कार्यालयहरू बन्द छन् र सेवा जिल्ला समन्वय समितिबाटै दिइँदै आएको छ।
स्थानीयवासी र जनप्रतिनिधिहरूले तत्काल वडास्तरमै सेवा बहाली गर्न माग गरेका छन्। उनीहरूका अनुसार एकीकृत सेवा लामो समयसम्म जारी रहँदा प्रशासनिक असहजता मात्र होइन, नागरिक अधिकारमै प्रतिकूल असर पर्न सक्छ।