Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

मुख्यमन्त्रीको दाबीमा टक्कर: यादव र सोनल दुवैले पेस गरे दाबी

मुख्यमन्त्रीको दाबीमा टक्कर: यादव र सोनल दुवैले पेस गरे दाबी

काठमाडौँ, मधेश प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया जटिल बन्दै गएको छ। बुधबार नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले ५८ सांसदको समर्थनसहित मुख्यमन्त्रीको दाबी पेस गरेका छन्।

मुख्यमन्त्रीको दाबी पेश गर्न यादव नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलगायत नेताहरूसँग प्रदेश प्रमुख कार्यालय पुगेका थिए। यादवले कांग्रेस (२२ सांसद), एमाले (२८ सांसद) र जनमत पार्टी (१३ सांसद) को समर्थन प्राप्त भएको दाबी गरेका छन्।

“जनमत पार्टीसँग सहमतिअनुसार हामीले ५८ सांसदको हस्ताक्षरसहित दाबी पेस गरेका छौं,” यादवले भने।

तर, सोही दिन यसअघि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता जितेन्द्र सोनललाई मुख्यमन्त्री नियुक्त गर्न ६ दलको समर्थनमा ५७ सांसदको हस्ताक्षरसहित अर्को दाबी पनि पेश भइसकेको छ। यस दाबीमा जनमत पार्टीका नेता महेशप्रसाद यादव पनि सहभागी थिए।

मुख्यमन्त्रीको प्रतिस्पर्धामा जनमत पार्टी निर्णायक बनेको देखिन्छ। एकातर्फ कांग्रेस-एमाले गठबन्धनले जनमत पार्टीलाई आफ्नो पक्षमा रहेको बताउँदै दाबी पेस गरेको छ, अर्कातर्फ जनमत पार्टीका संसदीय दलका नेता महेश यादवले आफूहरू सोनलको नेतृत्वमा सरकार बनाउन सहमत रहेको दाबी गरेका छन्।

“हाम्रो हस्ताक्षर प्रयोग गरेर कांग्रेस–एमालेले गलत गरे,” महेश यादवले भने, “हामी मधेशवादी दलहरू सम्मिलित सरकार बनाउन चाहन्छौं। जनताको भावना त्यही हो। मैले उनीहरूलाई यसबारे जानकारी गराइसकेको छु।”

एकै दिन दुई फरक दाबी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी समक्ष पेश भएसँगै, मुख्यमन्त्री नियुक्तिको विषय पेचिलो बन्दै गएको छ। दुबै पक्षले जनमत पार्टीको समर्थन आफ्नो पक्षमा रहेको दाबी गरिरहेका छन्, तर हस्ताक्षरको वैधता र सहमतिबारे अन्तिम निर्णय प्रदेश प्रमुखले गर्नुपर्नेछ।