Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

"एमाले सरकारबाट सधैंका लागि हटेको भ्रममा नपर्नुहोस्" :अध्यक्ष ओली

"एमाले सरकारबाट सधैंका लागि हटेको भ्रममा नपर्नुहोस्" :अध्यक्ष ओली

काठमाडौं, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले सधैंका लागि सरकारबाट बाहिरिएको भ्रम नपाल्न सबैलाई आग्रह गरेका छन्। पार्टीको १०औँ केन्द्रीय कमिटी बैठकको उद्घाटन सत्रमा बोल्दै उनले यस्तो धारणा राखे।

"कसैले सोच्नुभएको होला कि अब एमाले सधैंका लागि सरकारबाट हट्यो," उनले भने, "तर यो भ्रम हो। यस्तो नसोच्नु राम्रो हुन्छ।" ओलीका अनुसार एमाले नेपाली राजनीति र विकासको नायक शक्तिका रूपमा स्थापित भइसकेको छ।

उनले विश्व बैंकको हालैको प्रतिवेदनलाई उद्धृत गर्दै एमाले सरकार हटेपछि अर्थतन्त्र ओरालो लागेको तर्क प्रस्तुत गरे। "विश्व बैंकले नै भन्छ — यस वर्ष ३ प्रतिशतले आर्थिक वृद्धि दर घट्नेछ," उनले भने, "यो हाम्रो सरकार हटेपछि आएको प्रतिकूल प्रभाव हो।"

ओलीले पार्टीका नीतिहरू जनपक्षीय र प्रभावकारी भएकै कारण एमाले लगातार निशानामा परेको दाबी गरे। उनले एमालेलाई नेपालको कम्युनिस्ट आन्दोलनको वैचारिक र व्यवहारिक उत्तराधिकारीका रूपमा चित्रण गरे। सुशासन, स्थायित्व, र राष्ट्रवादको पक्षमा एमालेले अग्रगामी भूमिका निर्वाह गर्दै आएको दाबी गर्दै उनले भने, “हामीले राष्ट्रको शीर उठाएका छौं, जुन कुरा केही शक्तिहरूलाई मन परेको छैन।”

ओलीले राष्ट्रिय हित र सार्वभौमिकताको विषयमा स्पष्ट अडान लिँदै पार्टी सदैव देशको पक्षमा उभिएको बताएका छन्। ललितपुरको जावलाखेलस्थित रामबाघ महलमा सुरु भएको तीनदिने बैठकमा महाधिवेशन, पार्टीको रणनीति, संगठन सुदृढीकरणलगायत विषयमा विस्तृत छलफल हुने बताइएको छ।