काठमाडौँ, मधेस प्रदेश सरकारकी शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले पदबाट राजीनामा दिएकी छन्। सोमबार मुख्यमन्त्री सतिशकुमार सिंहलाई बुझाएको राजीनामा पत्रमार्फत उनले आफ्नाे पद त्यागको घोषणा गरेकी हुन्।
मुख्यमन्त्री सिंह नेतृत्वको सरकार हाल अल्पमतमा परिसकेको छ। तिवारीको राजीनामाले यो संकटलाई थप बल दिएको देखिन्छ। जनमत पार्टीले पहिले नै सरकारबाट समर्थन फिर्ता लिइसकेको छ, भने सत्तारुढ गठबन्धनका दुई प्रमुख घटक नेपाली कांग्रेस र नेकपा एमालेले पनि समर्थन फिर्ता गरी वैकल्पिक सरकारका लागि दाबी पेस गरिसकेका छन्।
मुख्यमन्त्री सिंहले भने अझै राजीनामा नदिने अडान लिइरहेका छन्। अब उनले प्रदेश सभाबाट विश्वासको मत लिने प्रक्रियामा जानुपर्ने अवस्था सिर्जना भएको छ।
तिवारीको राजीनामा र गठबन्धनको भत्किँदो स्वरूपले मधेस प्रदेशमा राजनीतिक अस्थिरता थपिएको छ। अबको राजनीतिक समीकरण कस्तो बन्छ भन्नेमा सबैको ध्यान केन्द्रित भएको छ।