काठमाडौँ, कोशी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा २५ प्रतिशत कटौती गर्ने निर्णय गरेको छ। सोमबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले हालैका घटनाहरू, जेन–जी आन्दोलनका क्रममा भएको तोडफोड तथा आगजनी र बाढी, पहिरोबाट भएको क्षति, पुनर्निर्माण गर्न तत्काल स्रोत जुटाउन यस्तो निर्णय गरेको हो।
प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले कार्यान्वयनमा लैजान बाँकी रहेको बजेटको २५ प्रतिशत रकम तत्कालका लागि रोक्का राख्ने निर्णय गरिएको जानकारी दिइन्। उनले भने, “प्रदेशभरिका सरकारी कार्यालय तथा पूर्वाधारमा भएको क्षतिको पुनःनिर्माणका लागि तत्काल स्रोत आवश्यक परेकोले बजेट कटौती गरिएको हो।”
बैठकले विभिन्न मन्त्रालयमा प्रशासनिक हेरफेरसमेत गरेको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयको सचिवमा मिलन आचार्यलाई र पर्यटन, वन तथा वातावरण मन्त्रालयको सचिवमा इन्द्र सापकोटालाई नियुक्त गरिएको मन्त्री भण्डारीले जानकारी दिए।
मन्त्रिपरिषद्ले कटौती गरिने बजेट विपद्पछिको पुनर्निर्माणमा मात्रै खर्च गर्ने गरी रकमान्तर खुला गर्ने निर्णय पनि गरेको छ। साथै, प्रभावित क्षेत्रमा पुनर्संरचना कार्य शीघ्र सम्पन्न गर्ने प्रतिबद्धता पनि प्रदेश सरकारले व्यक्त गरेको छ।
यो निर्णयले प्रदेश सरकारले उत्पन्न आपतकालीन अवस्थालाई प्राथमिकतामा राख्दै, स्रोत व्यवस्थापनलाई लक्ष्यअनुसार केन्द्रित गर्न खोजेको देखिन्छ।