काठमाडौं, काठमाडौंको बिजुलीबजारस्थित पुलमा पेस्तोल देखाउँदै खिचिएको भाइरल भिडियोबारे प्रहरीले अनुसन्धान गरी त्यसको वास्तविकता सार्वजनिक गरेको छ। सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको उक्त भिडियो जेन–जी आन्दोलनको समयमा खिचिएको भन्ने दाबी गरिएको थियो। तर प्रहरी अनुसन्धानले उक्त भिडियो झण्डै एक वर्ष पुरानो भएको पुष्टि गरेको छ।
भिडियोमा 'TOB' लेखिएको कालो ज्याकेट लगाएका एक युवक कम्मरको पछाडि पेस्तोल भिरेको देखिन्छन्। प्रहरीले ती युवक काठमाडौंका ३० वर्षीय तेन्जेन दावा भएको पुष्टि गरेको छ। प्रहरीका अनुसार उनीबाट बरामद गरिएको पेस्तोल नक्कली हो। भिडियो सार्वजनिक भएपछि उत्पन्न भएको भ्रम र आशंकाका कारण प्रहरीले उनीमाथि थप अनुसन्धान गरेको थियो।
तेन्जेनले प्रहरीसँगको बयानमा सामाजिक सञ्जालमा भाइरल बन्ने उद्देश्यले उक्त भिडियो बनाएको स्वीकार गरेका छन्। उनले प्रयोग गरेको हतियार प्लास्टिकको नक्कली पेस्तोल रहेको र त्यो भिडियोमा देखिएको पेस्तोल नै भएको दाबी गरेका छन्। प्रहरीले उनका मोबाइल, TikTok पोस्टहरू र अन्य डिजिटल प्रमाणहरू जाँच गर्दा पनि त्यस्तो अवाञ्छित गतिविधिको प्रमाण भेटिएको छैन।
भिडियोमा देखिएको ‘TOB’ लेखिएको ज्याकेटका कारण उनीहरूलाई 'फ्रि तिब्बत' समर्थक वा आन्दोलनकारी समूहको सदस्य भनेर आशंका गरिएको थियो। तर हालसम्मको अनुसन्धानबाट तेन्जेन कुनै राजनीतिक वा हिंसात्मक समूहसँग आबद्ध नरहेको प्रहरीले जनाएको छ। उनीहरू बाइक राइडिङ गर्ने युवाहरूको समूहमा आबद्ध थिए, जसले आन्दोलनका क्रममा बाइक पड्काएर ध्यान खिच्न खोजेका थिए।
प्रहरीका अनुसार तेन्जेन तिब्बतीयन मूलका हुन्। उनका बाबु भारतीय सेनाबाट अवकाश प्राप्त व्यक्ति थिए भने आमा र दिदी भारतमा बस्दै आएका छन्। तेन्जेन हाल कपनमा बस्दै आएका छन् र ट्याटु आर्टिस्टको रूपमा काम गर्दै आएका थिए। उनले पछिल्लो समय गाँजा सेवन गर्ने गरेको स्वीकार गरेका छन्।
हाल प्रहरीले उनीमाथि अभद्र व्यवहारसम्बन्धी कसुरमा म्याद लिइ अनुसन्धान अघि बढाउने तयारी गरेको छ। आवश्यक परे थप कसुरमा मुद्दा चलाउने गरी अनुसन्धानलाई विस्तार गरिने बताइएको छ। प्रहरीका अनुसार सामाजिक सञ्जालमा भ्रम फैलाउने यस्ता कार्यहरू रोक्न आवश्यक कारबाही प्रक्रिया अघि बढाइनेछ।