काठमाडौं, वर्षायाममा बाढी र पहिरोका कारण बन्द गरिएको मेलम्ची खानेपानी आयोजना पुनः सञ्चालनमा आएको छ। एक वर्षअघिको असार १० गते बन्द गरिएको आयोजनाबाट अहिले पुनः मर्मतपश्चात काठमाडौं उपत्यकामा पानी आपूर्ति सुरु गरिएको हो।
मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जगरनाथ दासका अनुसार, वर्षातका कारण क्षति पुगेका स्थानहरूको मर्मतपछि अहिले सुन्दरीजलस्थित सङ्कलन तथा प्रशोधन केन्द्रमा दैनिक १७ करोड लिटरभन्दा बढी पानी आइरहेको छ।
‘पानीको बहाव कम हुन थालेपछि क्षतिग्रस्त भागहरूको मर्मत सकियो। अहिले मेलम्चीको पानी पुनः काठमाडौं ल्याउन सफल भएका छौं,’ उनले भने।काठमाडौं उपत्यकामा दैनिक ४३ करोड लिटर पानीको माग भए पनि मेलम्ची बन्द रहँदा अन्य स्रोतबाट दैनिक १३–१४ करोड लिटर मात्रै आपूर्ति भइरहेको थियो।
मेलम्चीको पानी पुनः आउन थालेसँगै काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले वितरण प्रक्रिया सुरु गरेको कार्यकारी निर्देशक अशोककुमार पौडेलले जानकारी दिए।
‘अबदेखि तीन/तीन दिनको फरकमा हरेक घरमा पानी आउने व्यवस्था मिलाइएको छ,’ उनले भने। विसं २०७८ असार १ गते आएको बाढीले मेलम्चीको हेडवर्क्स पूर्णरूपमा क्षतिग्रस्त बनाएपछि आयोजनाबाट वर्षभरि निरन्तर पानी आपूर्ति हुन सकेको थिएन।
बाढीपछि वैकल्पिक रूपमा रिबर्मा खोलाबाट दैनिक ६–७ करोड लिटर पानी काठमाडौँ ल्याएर वितरण गरिएको थियो। २०७८ चैत १५ गतेदेखि मेलम्ची आयोजनाबाट दैनिक १७ करोड लिटर पानी वितरण सुरु गरिएको भए पनि त्यस वर्षको असार र साउनमा आएको अर्को बाढीले पुनः आयोजना बिगारिएको थियो। त्यसयता हिउँदमा मात्र मेलम्चीको पानी आपूर्ति हुँदै आएको छ।