काठमाडौं, गौरीघाटमा एक महिलाको हत्या भएको छ। काठमाडौं महानगरपालिका–७, गौरीघाट मिलनचोकमा बस्दै आएकी ४० वर्षीया बिमला तामाङ आइतबार दिउँसो आफ्नै कोठामा मृत फेला परेकी हुन्।
प्रहरीका अनुसार संखुवासभा खाँदबारी नगरपालिका–६ घर भई हाल काठमाडौंमा बसोबास गर्दै आएका ३५ वर्षीय तेन्जिङ शेर्पा (छिरिङ) बिमलाका श्रीमान् हुन्।
मृतक तामाङ कोठामा मृत अवस्थामा फेला परेको सूचना पाएपछि प्रहरी वृत्त गौशालाबाट टोली घटनास्थलमा पुगेको थियो। प्रारम्भिक अनुसन्धानमा दम्पतीबीच विवाद भएको र त्यसै क्रममा तेन्जिङले बिमलामाथि कुटपिट र ढुंगाले प्रहार गरेकाे खुल्न आएको प्रहरीको भनाइ छ।
घटनापछि प्रहरीले तेन्जिङलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ। अहिले घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।