Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

‘प्रचण्ड’ को घरबाट ट्रकमा पैसा ओसारिएको दाबी गरेका पूर्वएइआइजीविरुद्ध साइबरमा पर्‍यो उजुरी

‘प्रचण्ड’ को घरबाट ट्रकमा पैसा ओसारिएको दाबी गरेका पूर्वएइआइजीविरुद्ध साइबरमा पर्‍यो उजुरी

काठमाडौं, ‘प्रचण्ड’ को घरबाट जेनजी आन्दोलनअघि दुईवटा ट्रकमा राखेर दुई करोड रूपैयाँ पैसा ओसारिएको दाबी गरेका नेपाल प्रहरीका पूर्व एआइजी देवेन्द्र सुवेदीविरुद्ध साइबर अपराधमा उजुरी परेको छ । नेकपा माओवादी केन्द्रका संयोजक प्रचण्डको सचिवालयले नेपाल प्रहरीका पूर्व एइआइजी सुवेदीविरुद्ध साइबर अपराधमा उजुरी दर्ता गराएको हो । उनले केहीदिन अघि एक पत्रकारसंग कुराकानी गर्दै प्रचण्डको निवासबाट जेनजी आन्दोलनको २ दिनअघि २ करोड रुपैयाँ २ ट्रकमा निकालिएको दाबी गरेका थिए ।

प्रचण्डको सचिवालयका संयोजक गोविन्द आचार्यको तर्फबाट चरित्रहत्या र भ्रम फैलाइएको भन्दै साइबर ब्युरोमा बुझाइएको हो । यसअघि सचिवालयले वक्तव्य जारी गर्दै सुवेदीलाई २ करोडको प्रमाण पेश गर्न चुनौती दिएको थियो । उजुरीमा डिजिटल माध्यममार्फत गरिएका यस्ता गलत प्रचारप्रसार साइबर कानुनविपरीत भएकाले त्यसबारे आवश्यक अनुसन्धान गरी कानुनी कारबाहीको माग गरिएको छ ।

सामाजिक सञ्जालबाट पार्टी नेतृत्वविरुद्ध चरित्रहत्या गरिदा गम्भीर साइबर अपराध भएकाले निज देवेन्द्र सुवेदी विरुद्ध नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी गरिएको छ,’ प्रचण्डको सचिवालयले भनेको छ, ‘संयोजकको सचिवालयका तर्फबाट हिजो ब्यूरोमा गरिएको उजुरीमा डिजिटल माध्यममार्फत गरिएका यस्ता गलत प्रचारप्रसार साइबर कानुनविपरीत भएकाले त्यसबारे आवश्यक अनुसन्धान गरी कानुनी कारबाहीको माग गरिएको छ ।’ उक्त बिषय व्यापक बनेपछि सचिवालयले खण्डन गरिएको थियो ।

उक्त चर्चाको प्रमाण ल्याउन प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले चुनौती दिएका छन । सचिवालयले प्रचण्डको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई घरेलु कामदार बनाइएको भन्ने प्रचारमा पनि सत्यता नभएको जनाएको छ। जेन–जीले गरेको प्रदर्शनको दोस्रो दिन २४ भदौमा प्रचण्ड र उनका छोरीहरू रेणु दाहाल र गंगा दाहालको घरमा आगजनी भएको थियो। माओवादीकै पूर्वमन्त्रीहरूले स्कर्टिङ गरेर उक्त पैसा अन्त कतै लगिएको उनले बताएका थिए ।

‘हामी सम्बन्धित सञ्चार माध्यमहरूलाई संयोजक प्रचण्डको निवासबाट जेन जी आन्दोलन पूर्व दुई ट्रकमा दुई करोड रुपैयाँ लगिएको, सुरक्षाकर्मीलाई घरेलु कामदार बनाइएको भन्ने जस्ता निराधार आरोप तथा गंगा दाहालको घरमा आठ जना सुरक्षाकर्मी खटाइएको दाबीको सत्यता प्रमाणित गर्न चुनौती दिन्छौं,’ प्रचण्डको सचिवालयले भनेको छ । केही सञ्चार माध्यमहरुमा जेन–जी आन्दोलनभन्दा अघि प्रचण्डको निवासबाट दुईवटा ट्रकमा पैसा निकालेर लगिएको वक्तव्यहरु आएका थिए ।

सचिवालयले भने यसलाई ‘तथ्यहीन, नियोजित र चरित्रहत्या गर्ने प्रकृतिको’ भएको बताएको छ । यसबीचमा सरकारले पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली र प्रचण्डको सुरक्षामा खटिएका सुरक्षाकर्मीको संख्या कटौति समेत गरेको छ। सुरक्षा कार्यविधिमा उल्लेख मापदण्ड उलंघन गर्दै भीआईपीहरूले सुरक्षाकर्मी प्रयोग गरेकाले तिनलाई फिर्ता बोलाइएको सरकारको भनाइ छ।