काठमाडौं, सरकारले पूर्वप्रधानमन्त्री प्रचण्ड लगायत नेताहरूको सुरक्षाकर्मी फिर्ता गरेपछि अहिले प्रचण्ड पूर्वजनमुक्ति सेनाको सुरक्षा घेरामा रहेका छन । जेनजी विद्रोहपछि प्रचण्डलाई भित्री घेरामा माओवादीका पूर्व पीएले आवश्यकता अनुसार विशेष सुरक्षा दीरहेको दीपशिखाले जानकारी दिएका छन । गृह मन्त्रालयले मापदण्डभन्दा बढी सुरक्षाकर्मी राखेको भन्दै पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको सुरक्षाबाट ६१ जना सुरक्षाकर्मी फिर्ता बोलाउने निर्णय गरेको हो।
गृह मन्त्रालय स्रोतका अनुसार गृहमन्त्री ओमप्रकाश अर्यालले मन्त्रीस्तरीय निर्णय गर्दै ओलीको सुरक्षामा खटिएका २७ जना र प्रचण्डको सुरक्षामा खटिएका ३४ जना सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय गरेका हुन्। यता वाईसीएलका अध्यक्ष पुष्प ओलीले अध्यक्ष प्रचण्डको सुरक्षामा वाईसीएल टोली खटिएको पुष्टि गरेका छन । स्रोतका अनुसार प्रचण्डको सुरक्षामा पूर्वलडाकुसमेत छन । उनीहरूलाई तीन तहको सुरक्षा घेरामा परिचालन गरिएको छ ।
सबैभन्दा भित्री घेरामा विशेष तालिमप्राप्त पूर्वलडाकुहरू छन । बाहिरी घेरामा वाईसीएलको फिल्डमा खटिने गरेको टोली छ । र अर्को टोली गोप्य सूचना संकलनको उद्देश्यसहित परिचालन गरिएको छ । यो टोलीले ‘इन्टेलिजेन्स’को जस्तो भूमिका निर्वाह गर्ने छ ।
तीमध्ये केही सदस्यहरू अहिले पनि लडाकु ब्याकग्राण्डका छन ।यता सरकारले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत नेताहरूको सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय गरेकोमा नेकपा माओवादी केन्द्रका नेता तथा योङ्ग कम्युनिस्ट लिग वाईसीएलका इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ले आक्रोश पोखेका छन । उनले प्रचण्ड लगायत माओवादी नेताहरुको सुरक्षा पूर्वजनमुक्ति सेना पीएलएले गरिरहेको र गरिरहने सामाजिक सञ्जालमा लेखेका थिए ।
साथै, ढिलोचाँडो बदलाभावको सत्ता डण्डा ओलीको जस्तै हुने चेतावनी दिएका थिए । माओवादी जनमुक्ति सेनाका पूर्वसर्वोच्च कमाण्डर समेत रहेका प्रचण्ड २०६३ मा भएको तत्कालीन सरकार र विद्रोही माओवादीबिच बृहत शान्ति सम्झौत गरी शान्तिपूर्ण राजनीतिमा आएका थिए । भदौ २३ र २४ गते जेनजी विद्रोहका क्रममा देशको केन्द्रीय प्रशासनिक केन्द्र सिंहदरबारसहित सर्वोच्च अदालत, संसद भवन, राजनीतिक दलहरुका कार्यालय, नेताहरुको निजी निवासमा आगजनी भएपछि प्रचण्ड उच्च सुरक्षा घेरामा बसेका थिए । तर भदौ २४ गते एक दिन मात्र राज्यको सुरक्षामा बसेको दीपशिखाले दाबी गरेका छन । उनी फेसबुकमा लेख्छन संयोजक क। प्रचण्डको सुरक्षार्थ खटिएको सुरक्षा टोलि आज बिहान १० बजेबाट फिर्ता गरिएकोछ । थोरै संख्याका सुरक्षाकर्मि हुनुहुन्छ र बॅाकि सुरक्षा य्च्ल र पुर्व जनमुक्ति सेनाले गरिरहेको छ।
बाहिर मिडियामा आएको जस्तो मापदण्ड विपरित सुरक्षाकर्मि थिएनन । बृहत शान्ति सम्झौताअनुरूप राज्यले दिने विशेष सुरक्षा व्यवस्था मात्रै थियो । सरकारको तजबिजीमा हुने यस्तो व्यवस्था मापदण्ड विपरीत होईन । यो सरकारले त्यो सुरक्षा नदिने भनेपछि फिर्ता गरीएको हो ।