काठमाडौं, एमआरआई मेसिन खरिदमा घोटाला गरेको भन्दै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी पूर्वउपकुलपति डा संगीता भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध १२ करोड रुपैयाँ भ्रष्टाचार गरेको अभियोगसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो।यस प्रकरणमा भण्डारीसहित १३ जना प्रतिवादी छन्।
अख्तियारले प्रमुख प्रतिवादी बनाएको उपकुलपति संगीता लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका नेता समेत रहेका पूर्वमन्त्री शरतसिंह भण्डारीकी बहिनी पनि हुन्। डा. संगीता विवादित कर्मचारी हुन । उनी हाल विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राध्यापक छिन । निवर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवालाई प्रयोग गरेर अख्तियारका एक आयुक्त मार्फत भ्रष्टाचार मुद्दा नचलाउन चलखेल गर्दै आएको संगितामाथि आरोप छ। आफूमाथि छानबिन गर्ने अख्तियारका पदाधिकारी हटाउन आर्थिक चलखेल गरेको प्रमाण समेत अख्तियारमा पुगेपछि हलचल मच्चिएको छ।
बुधबार अख्तियारले पोखराको लिचीबारी घोटाला प्रकरणमा केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारका दुई मन्त्रीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोग करिब आधा दर्जन भ्रष्टाचारका ठूला मुद्दा दायर गर्ने तयारी गरेको छ। बुधबार मात्र दुई पूर्वमन्त्रीसहित ७ जनालाई विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारले थप ठूला माछामाथि एक्सन लिन लागेको हो।अख्तियारले भिजिट भिसा प्रकरणदेखि स्वास्थ्य उपकरण खरिद अनियमितता तथा विमानस्थल निर्माण घोटाला र अकुत सम्पत्तिका मुद्दाको अनुसन्धानलाई टुंगोमा पुऱ्याउन लागेको छ।
अख्तियार स्रोतका अनुसार भिजिट भिसा प्रकरणमा सहसचिव तीर्थराज भट्टराईसहितको भ्रष्टाचार मुद्दा ‘पाइपलाइन’मा छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन, कार्यालयका तत्कालीन प्रमुख अध्यागमन अधिकृत भट्टराईसहितका बिचौलियाहरूको भिजिट भिसा सेटिङको अनुसन्धान अन्तिम चरणमा रहेको पाइन्छ।यता पोखराको लिचीबारी जग्गा प्रकरणमा पूर्वमन्त्री बलरामलाई जोगाएर राजकुमार र रञ्जिताविरुद्ध मुद्दा दायर भएपछि चर्को आलोचनाका बिचमा बलराममाथि पनि अब अनुसन्धान हुने भएको छ ।
हिजो मात्र जग्गा घोटाला प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको थियो । तत्कालीन केपी ओली नेतृत्वको सरकारका सामान्य प्रसाशन मन्त्री राजकुमार गुप्तासहित ७ जनाविरुद्ध विषेश अदालतमा मुद्दा दायर भएको हो । जसमा नागरिक उन्मक्ती पार्टी नाउपाकी अध्यक्ष समेत रहेकी पूर्व भूमि व्यवस्थामन्त्री रञ्जिता श्रेष्ठका विरुद्ध पनि मुद्दा दायर भएको छ ।यता मन्त्री गुप्ताले अर्का भूमि व्यवस्था तथा सहकारी मन्त्री बलराम अधिकारीको समेत नाम लिएर उनले पैसा खाइसकेको दाबी गरेका थिए । त्यसपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो । अख्तियारले दुई पूर्व मन्त्रीलाई मुद्दा चलाएपनि बलराम अधिकारीलाई भने जोगाएको आरोप लागेपछि अब उनीमाथि अनुसन्धनान हुने भएको हो ।