काठमाडौं, केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुका नेताहरुले बालेन शाह र सुदन गुरुङ विरुद्ध जाहेरी दिने भएका छन । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध किटानी जाहेरी दिने प्रयाससँगै सो पार्टीको भ्रातृ संगठन अनेरास्ववियुले काउन्टर दिने तयारी गरेका हुन । यतिबेला के पी ओलीलाई पक्राउ गर्न दबाब बढेको छ । जेन जी आन्दोलनमा गोली हान्न आदेश दिएको भन्दै पक्राउ गर्न जेन जी युवाहरुले माग गरेका छन । अनेरास्ववियुका नेताहरुले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र हामी नेपालका संस्थापक सुधन गुरुङविरुद्ध काउन्टर जाहेरी दिन अखिलका नेताहरू काठमाडौं प्रहरी परिसर जान लागेको खुलेको छ ।
अखिलका नेताहरूको बैठकले जाहेरी दिन जाने निर्णय गरेको हो । सिंहदरबार लगायत सरकारी संरचनामा आगजनी गरिएको, निजी सम्पत्ति ध्वंस गरिएको र प्रहरीहरुको हत्या गरिएकोमा बालेन र सुधनलाई आरोपित गर्दै जाहेरी दिने तयारी गरिएको हो । अनेरास्ववियुका महासचिव दीपक धामीले अहिले ५ बजेभित्र किटानी जाहेरी दर्ता गराउने गरीको तयारीमा रहेको बताएका छन । हिज मात्रै सुदन गुरुङ सहितको टोलीले ओली र रमेश लेखक विरुद्ध जाहेरी लिएर प्रहरीकोमा पुगेको थियो तर प्रहरीले जाहेरी दर्ता गर्न नमानेको हो ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने विषयमा प्रहरीसहित तीन सुरक्षा निकायका प्रमुखले असहमति जनाएका छन् । सोमबार राति बालुवाटारमा प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको चारवटै सुरक्षा प्रमुखहरुको बैठकमा ओली र लेखकलाई पक्राउ गर्ने विषयमा गम्भीर ढंगले छलफल भएको थियो। बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल र गृहसचिव रामेश्वर दंगाल पनि सहभागी थिए।
छलफलमा नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुबेर खापुङले उनीहरुलाई पक्राउ गर्ने विषयमा प्रष्ट भाषामा विमति राखेको विश्वस्त स्रोतले जानकारी दियो। आफूलाई जेनजीको प्रतिनिधिका रुपमा प्रस्तुत गरिरहेका सुधन गुरुङसहित व्यक्तिहरुले सोमबार काठमाडौँ प्रहरी परिसर पुगेर ओली लेखकविरुद्ध भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा युवाहरुको हत्या गरेको भन्दै किटानी जाहेरी दर्ता गराउन खोजेका थिए।
प्रहरीले जाहेरी दर्ता नगरी फर्काएपछि गुरुङ नेतृत्वको समूहले प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याललाई जाहेर दर्ता गरेर पक्राउ गर्न चर्को दबाब दिएका थिए। गुरुङ नेतृत्वको समूह मंगलबार पनि परिसर पुगेर जोहरी दर्ताका लागि दबाब दिइरहेको छ।