Shares
Shares
काठमाडौं, वरिष्ठ प्रहरी अधिकारीहरूले जेनजी आन्दोलनको सडक प्रदर्शनमा घुसपैठ भई अप्रिय घटना हुन सक्ने गम्भीर जोखिम रहेको भन्दै गृहमन्त्री ओमप्रकाश अर्याललाई प्रत्यक्ष हस्तक्षेप गरी प्रदर्शन रोक्न आग्रह गरेका छन्।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्नुपर्ने माग गर्दै जेनजी समूहले प्रहरी कार्यालयहरूमा दबाब बढाएपछि सोमबार साँझ प्रहरी प्रमुखसहितका उच्च अधिकारीहरू गृहमन्त्री अर्याललाई भेट्न गएका थिए।
भेटमा प्रहरी अधिकारीहरूले गृहमन्त्रीलाई हालको संवेदनशील सुरक्षापरिस्थितिबारे ब्रिफिङ गर्दै भनेका थिए:
"प्रहरीका बर्दी लुटिएका छन्, हतियार लुटिएका छन्, र ती हतियार चलाउन सक्ने पेशेवर अपराधीहरू जेलबाट भागेर बाहिर छन्। उनीहरू नै बर्दी लगाएर प्रदर्शनमा घुसेर गोली चलाए भने, कसले चलायो – सक्कली कि नक्कली – भन्ने छुट्याउने अवस्था हुँदैन। त्यसैले कम्तीमा सडक प्रदर्शन रोक्न मन्त्रीज्यूले नै जेनजीलाई आग्रह गर्नुपर्छ।"
गृहमन्त्री अर्यालले भने भदौ २३ गतेको आन्दोलन दमनमा संलग्नहरूमाथि जाहेरी नलिएसम्म आन्दोलनरत युवाहरूको आक्रोश मथ्थर हुन नसक्ने बताएका थिए। साथै, उनले आफूले अपिल गरेको मात्रैले आन्दोलन रोकिने अवस्था नरहेको स्पष्ट पारे।
तर प्रहरी अधिकारीहरूले कानुनी प्रक्रिया अनुरूप जाहेरीको मार्ग खुलेर अगाडि बढ्नुपर्छ, र त्यस्तो प्रक्रिया अघि बढाउने नीति निर्माण गृहमन्त्रीकै जिम्मेवारी हो भनेका छन्। साथै, शान्ति सुरक्षाका लागि प्रदर्शन नगर्न सार्वजनिक सूचना जारी गर्नुपर्ने माग पनि राखिएको थियो।
प्रहरी अधिकारीहरूले लुटिएका हतियारहरूको व्यवस्थापन रणनीति के हो भन्ने विषयमा पनि गम्भीर चासो व्यक्त गरे। उनीहरूले भने:
"हामीले चाडपर्वसम्म हतियार फिर्ता गर्ने समय थप्यौं, तर अझैसम्म एउटा पनि हतियार फिर्ता भएको छैन। यदि वास्तविक जेनजी आन्दोलनकारीहरूले लिएको भए ती हतियार फिर्ता भइसक्थ्यो। तर अब ती हतियार हाम्रै सुरक्षाका लागि चुनौती बन्न थालेका छन्, त्यसैले फिर्ता नगर्नेहरूलाई कारबाही गर्ने गरी अघि बढ्नुपर्छ।"
गृहमन्त्रीले लुटिएका हतियार सुरक्षाका लागि चुनौती बनेको स्वीकार गरे पनि, कडा कारबाहीबारे ठोस निर्देशन भने दिएका छैनन्, स्रोतको भनाइ छ।
प्रहरी अधिकारीहरूले प्रदर्शनको क्रममा प्रहरीमाथि भएको आक्रमण र लुटपाट अझै कारबाहीको दायरामा आउन नसक्दा संगठनको मनोबल खस्किएको बताएका छन्। अबका दिनमा कसरी सुरक्षाको जिम्मा लिनुपर्ने भन्ने अन्योल बढ्दै गएको उल्लेख गर्दै, "प्रहरीको मनोबल खस्किन नदिऔं" भन्ने सुझाव दिएका छन्।
गत भदौ २३ र २४ गते काठमाडौंमा जेनजी युवाहरूले भ्रष्टाचार नियन्त्रण र सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा सडकमा उत्रिएपछि प्रहरी कार्यालयहरूमा आगजनी, तोडफोड र हतियार लुटपाट भएको थियो।
गृह मन्त्रालय स्रोतका अनुसार करिब १,२०० हतियार अझै फेला परेको छैन। प्रहरीका अनुसार करिब १,१०० हतियार लुटिएकोमा नेपाली सेनाको सहयोगमा करिब ३०० वटा मात्रै फिर्ता भएको छ। बाँकी हतियारहरूको अवस्था अझै अज्ञात रहेको प्रहरीले जनाएको छ।
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209