Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

जेनजी मुभमेन्टको माग : अख्तियार प्रमुख र आयुक्तहरू राजीनामा देउ

जेनजी मुभमेन्टको माग : अख्तियार प्रमुख र आयुक्तहरू राजीनामा देउ

काठमाडौं, ‘जेनजी मुभमेन्ट अलायन्स’ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई र अन्य सम्पूर्ण आयुक्तहरूको तत्काल राजीनामाको माग गर्दै आयोगमा औपचारिक दबाब पत्र बुझाएको छ।

अलायन्सका अनुसार भदौ २३ गतेदेखि सुरु भएको जेनजी आन्दोलनले भ्रष्टाचार र दण्डहीनताको अन्त्य गर्न स्वतन्त्र, निष्पक्ष र सक्षम नेतृत्वको आवश्यकता रहेको जोड दिएको छ। तर, हालको अख्तियार नेतृत्वबाट यस्तो अपेक्षा पुरा नहुने निष्कर्षसहित दबाब पत्र पेश गरिएको हो।

मंगलबार आयोगमा दर्ता गराइएको पत्रमा उल्लेख छ, “प्रधान आयुक्त र अन्य आयुक्तहरूको नियुक्ति तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत संसदीय सुनुवाइ विना गरेको थियो, जसले आयोगको निष्पक्षतामाथि गम्भीर प्रश्न उठाएको छ।”

पत्रमा प्रमुख आयुक्त राईमाथि वाइडबडी विमान खरिद प्रकरणलगायतका विवादमा संलग्न भएको आरोप लगाइएको छ। साथै, उनका निर्णयहरू राजनीतिक प्रभावमा आधारित देखिएको जनाउँदै विशेष अदालतले समेत अख्तियारको भूमिकामाथि प्रश्न उठाइसकेको तर्क प्रस्तुत गरिएको छ।

अख्तियारप्रति आम नागरिकको विश्वास घट्दै गएको उल्लेख गर्दै पत्रमा भनिएको छ, “भ्रष्टाचार अन्त्यका लागि तपाईंको नेतृत्वमा निष्पक्षता सम्भव छैन। त्यसैले नैतिकताको आधारमा तपाईंहरू सबैले पदबाट राजीनामा दिनु उचित हुन्छ।”

genz.jpg

genz 2.jpg

अलायन्सका अनुसार यो निवेदन ३९ जिल्लाका १२ समूहका प्रतिनिधिहरूको हस्ताक्षरसहित आयोगमा बुझाइएको हो।