Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रोशी खोलाले बगाएको बीपी राजमार्गको डाइभर्सन पुनः निर्माण सुरु

रोशी खोलाले बगाएको बीपी राजमार्गको डाइभर्सन पुनः निर्माण सुरु

काठमाडौं, असोज १८ र १९ गतेको अविरल वर्षापछि आएको बाढीले बगाएको बीपी राजमार्गको रोशीखोला डाइभर्सन पुनः निर्माण गर्न सुरु गरिएको छ।

रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाका अनुसार, डाइभर्सन चौकीडाँडास्थित नमोबुद्ध–रोशी गाउँपालिकाको सिमाना नजिकै निर्माण सुरु गरिएको हो। बाढीपछि खोलाको बहाव केही कम भएको अवसरमा निर्माणको काम अघि बढाइएको जनाइएको छ।

सडक डिभिजन कार्यालय भक्तपुरले रोशी गाउँपालिका र नमोबुद्ध नगरपालिकासँगको समन्वयमा डाइभर्सन निर्माण कार्य अघि बढाएको हो। कार्यालयकी सूचना अधिकारी बिन्दु अधिकारीका अनुसार, खोलाको बहाव घट्दै गएकाले आवश्यक योजना बनाइरहेको र ३/४ वटा स्थानबाट वैकल्पिक डाइभर्सन निर्माणको सम्भावनाबारे समेत विचार भइरहेको छ।

“जहाँ हाम्रो मेशिन छन्, त्यही स्थानहरूबाट डाइभर्सन निर्माण सुरु गर्ने योजना बनाउँदैछौं,” अधिकारीले भनिन्। 

अधिकारीका अनुसार, सडक खोलाको किनारै किनार लैजानुपर्ने बाध्यता र पानीको धार भित्तासम्म टाँसिएको अवस्थाले डाइभर्सन निर्माणमा चुनौती थपिएको छ।

यद्यपि, सरोकारवाला निकायहरूबीच आपसी सहकार्यमा निर्माण कार्य अघि बढाउने सहमति भएको छ। नमोबुद्ध नगरप्रमुख कुन्साङ लामा, महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा, रोशी गाउँपालिका अध्यक्ष दिनेश लामा र सडक डिभिजन कार्यालयका इञ्जिनियर दुर्गा प्रसादबीच छिटोभन्दा छिटो राजमार्ग सञ्चालनमा ल्याउने र आवश्यक परेमा पुल निर्माणमा विशेष पहल गर्ने निर्णय भएको हो। 

गत वर्षको बाढीले डुबाएको क्षेत्रलाई अस्थायी डाइभर्सनमार्फत पुनः खुलाइएको भए पनि यस वर्षको असोज १८ र १९ गतेको वर्षाले पुनः डाइभर्सन बगाउँदा बीपी राजमार्ग अहिले पूर्ण रूपमा अवरुद्ध बनेको छ।