Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सिराहामा दलित बस्तीमा तोडफोड प्रकरण : वडाध्यक्षसहित तीन जना पक्राउ

सिराहामा दलित बस्तीमा तोडफोड प्रकरण : वडाध्यक्षसहित तीन जना पक्राउ

काठमाडौं, सिराहाको कल्याणपुर नगरपालिका–८ मा दलित समुदायसँगको विवादपछि घर टहरामा तोडफोड गरिएको घटनामा वडाध्यक्षसहित तीन जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय सिराहाले दिएको जानकारीअनुसार पक्राउ पर्नेमा वडा नं. ८ का वडाध्यक्ष रामकिशोर यादव छन्। उनीसहित १३ जनाविरुद्ध आपराधिक उपद्रव सम्बन्धी मुद्दा दर्ता गरिएको छ।

प्रहरीका अनुसार, घटनामा संलग्न भनिएका १३ जनामध्ये हालसम्म वडाध्यक्ष यादवसहित तीन जनालाई नियन्त्रणमा लिइएको छ भने बाँकीको खोजी कार्य जारी छ।

 प्रहरीका अनुसार, दसैंको दुर्गा पूजा समारोहका क्रममा सोही वडामा रहेको दलित समुदायसँग वडाध्यक्ष पक्षको भनाभन भएको थियो। विवादकै क्रममा अनधिकृत (ऐलानी) जग्गामा बनेका ४–५ वटा घरमा तोडफोड गरिएको बताइएको छ।

जिल्ला प्रहरी प्रमुख एसपी अनन्तराज शर्माले भने, “तीन वटा घर पूर्ण रूपमा भत्काइएको छ भने दुई वटामा आंशिक क्षति पुगेको छ। साथै, लुटपाट भएको भन्ने उजुरी पनि आएको छ। हामी घटनाको विस्तृत अनुसन्धान गरिरहेका छौं।”

पीडित पक्षसँग लगातार संवाद भइरहेको प्रहरीको भनाइ छ।