काठमाडौं, पाँचथरमा भएको दुर्घटनामा ज्यान जानेको संख्या ६ पुगेको छ । कुम्मायक गाउँपालिकामा भएको बोलेरो दुर्घटनामा ज्यान जानेको संख्या ६ पुगेको खबर प्राप्त भएको हो । पाँचथरबाट यात्रु बोकेर धरान तर्फ आउँदै गरेको बोलेरो दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ६ पुगेको पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले बताए । उनका अनुसार ३ जना पुरुष र ३ जना महिलाको मृत्यु भएको हो । उनीहरूको पहिचान भने खुलिसकेको छैन । दुर्घटनामा परि ६ जना घाइते भएका छन् ।
घाइते मध्ये ५ जनालाई उपचारका लागि धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको पोख्रेलले बताए । उनीहरूको अवस्था गम्भीर रहेको छ। एक जनालाई भने उपचारका लागि जिल्ला अस्पताल पाँचथर लगिएको छ । पाँचथरको कुम्याक गाउँपालिका यात्रु लिएर धरान आउँदै गरेको बोलेरो गाडी भिरबाट तमोर नदीमा खसेको थियो । मे १ ज ३०५५ नम्बरको बोलेरो गाडी शनिवार दिउँसो सडक छेउबाट ५ सय मिटर तल तमोर नदी किनारमा खसेपछि प्रहरी र स्थानीयले उद्धार गरेका थिए ।यता सरकारले विपदजन्य क्षति रोक्न आइतबार र सोमबार सार्वजनिक बिदा दिएको छ।
गृह मन्त्रालयले शनिबार सार्वजनिक सूचना जारी गर्दै दुई दिन बिदा दिइएको जानकारी दिएको छ। विपद व्यवस्थापन तथा अत्यावश्यक सेवासँग सम्बन्धित कार्यालयबाहेक अरू सबै बन्द रहने गृह मन्त्रालयले जनाएको छ।
’वर्षाका कारण उत्पन्न हुनसक्ने बाढी, डुबान, भूक्षय लगायतका जोखिमका साथै सडक तथा हवाई यातायात प्रभावित हुने र मानवीय क्षतिसमेत हुनसक्ने सम्भावनालाई मध्यनजरमा राखेर असोज १९ र २० गतेका दिन विपद व्यवस्थापन र अत्यावश्यक सेवासँग सम्बन्धित कार्यालयहरू बाहेक नेपाल राज्यभर सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि सो सूचना प्रकाशित गरिएको छ,’ सूचनामा भनिएको छ।
यस अवधिमा काम नपरी बाहिर ननिस्किन अनुरोध गरेको छ। शनिबार रातिदेखि भारी वर्षा हुने पूर्वानुमान छ। मधेश प्रदेशका अधिकांश स्थानमा भारी वर्षा मापन भएको छ । सबैभन्दा धेरै वर्षा पर्साको वीरगञ्जमा मापन भएको छ । पछिल्लो २४ घण्टामा वीरगञ्जमा ११७ मिलिमिटर वर्षा मापन भएको छ । पर्साकै मुडली, रंगपुर टाँडीबजारमा पनि ठूलो पानी परेको छ ।