काठमाडौं, ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङले विजया दशमीको नवमीका दिन, बीपी राजमार्गको निरीक्षण गर्दै यातायात सञ्चालन अवस्था, बाढीले क्षतिग्रस्त सडक खण्डको पुनर्निर्माण प्रगति र ट्राफिक व्यवस्थापनबारे जानकारी लिएका छन्।
दशैंजस्तो व्यस्त चाडपर्वमा यात्रुहरूलाई बीपी राजमार्ग प्रयोग गर्दा भोग्नुपरेका समस्या, पूर्वाधारको अवस्था, र सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै मन्त्री घिसिङ सडक विभागका महानिर्देशक तथा सम्बन्धित आयोजना प्रमुखहरूसँगै स्थलगत निरीक्षणमा निस्किएका थिए।
संघीय राजधानी काठमाडौँलाई पूर्वी नेपालसँग जोड्ने १६० किलोमिटर लामो बीपी राजमार्ग जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको थियो। तर, गत वर्ष असोज महिनामा आएको बाढीले ३०.५ किलोमिटर सडक क्षतिग्रस्त बनाएको थियो।
हाल राजमार्गमा इन्टरमिडियट लेन निर्माण भइरहे पनि, क्षतिग्रस्त खण्डमा अब दुई लेनको बाटो निर्माण गरिने मन्त्री घिसिङले जानकारी दिए। उनले दशैंतिहारको भीडमा यात्रुहरूलाई सहज र सुरक्षित यात्रा सुनिश्चित गर्न स्थायी पुनर्निर्माण कार्यलाई तीव्र बनाउँदै, अस्थायी व्यवस्थापनमा पनि चुस्तता ल्याउन सम्बन्धित निकायहरूलाई निर्देशन दिएका छन्।
बाढीले क्षति पुर्याएको २५ किलोमिटर सडकखण्डमा हाल ठेक्का सम्झौता भई काम अगाडि बढिसकेको छ भने बाँकी २.५ किलोमिटर खण्ड जापानी सहयोग नियोग जाईकाको अनुदान सहयोगमा निर्माण हुने तयारीमा रहेको छ।
मन्त्री घिसिङले भने, “नेपाल सरकारले गर्नुपर्ने कामको टेन्डर भइसकेको छ, जाईकाको तर्फबाट बन्ने सडकको पनि प्रक्रिया अघि बढेको छ। दशैं–तिहारपछिबाट कामलाई तीव्रता दिँदै राजमार्गलाई यथाशक्य चाँडो पहिलेकै अवस्थामा ल्याउने प्रयासमा छौं।”
उनले विशेष गरी गत वर्ष रोसी खोलाको बाढीले क्षतिग्रस्त बनाएको सडकखण्डको पुनर्निर्माणका लागि अहिले विभिन्न स्तरमा समन्वय भइरहेको पनि उल्लेख गरे।
दशैंपछि बाहिरी जिल्लाबाट काठमाडौँ फर्किने सवारीको संख्यामा अत्यधिक वृद्धि हुने भएकाले सवारी जाम न्यूनीकरणका लागि आवश्यक उपकरण र जनशक्ति तयारी अवस्थामा राख्न निर्देशन दिइएको छ।
त्यस्तै, मौसम पूर्वानुमानलाई उद्धृत गर्दै मन्त्री घिसिङले आगामी असोज १७, १८ र १९ गते भारी वर्षाको सम्भावना रहेकाले यात्रुहरूलाई सचेत रहन र सुरक्षित यात्रा गर्न विशेष अनुरोध पनि गरेका छन्। उनले भने, “बीपी राजमार्ग, नारायणगढ–मुग्लिन र नारायणगढ–बुटवल सडकखण्डमा जोखिम बढ्न सक्छ। त्यसैले सवारी चालक तथा यात्रुहरूलाई अत्यावश्यक जानकारी लिएर मात्र यात्रा गर्न, हतार नगर्न र सतर्कताका साथ यात्रा गर्न अनुरोध गर्दछु।”