काठमाडौं, क्रिकेटर सन्दीप लामिछाने सम्बन्धी एउटा अपुष्ट समाचारका कारण कान्तिपुर टेलिभिजनको सम्पादकीय नेतृत्वमा परिवर्तन आएको छ। समाचार प्रमुख विजय पौडेलले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका छन्।
घटना सुरु भयो वेस्टइन्डिजसँग यूएईमा भएको खेलमा सन्दीप अनुपस्थित रहँदा। कान्तिपुर टिभीको वेबसाइटमा प्रकाशित समाचारमा “नासा सेक्युरिटिज” को लोगो भएको जर्सी लगाउन नमानेपछि विवाद भएको” भन्ने दाबी गरिएको थियो — स्रोतको हवाला दिँदै।
तर सन्दीपले सामाजिक सञ्जालमार्फत तत्कालै उक्त समाचारको खण्डन गरे। त्यसको भोलिपल्ट, कान्तिपुर टिभीले समाचार पुष्टि हुन नसकेको भन्दै क्षमायाचना गर्दै समाचार हटायो।
तर यति मात्र पर्याप्त भएन। कान्तिपुर मिडिया ग्रुपका प्रवन्ध निर्देशक सम्भव सिरोहियाले सार्वजनिक रूपमा न्यूज रुमको आलोचना गरे। फेसबुकमा लेखिएको उनको कडा स्टाटसले समाचार प्रमुख पौडेलमाथि नैतिक दबाब सिर्जना गर्यो। त्यसपछि उनले पद त्याग गर्ने निर्णय गरेका हुन्।
पौडेलले हिजो सहकर्मीहरूसँग विदा माग्दै कार्यालयबाट बिदा लिएका थिए। उनको स्थानमा रुपेश श्रेष्ठलाई कार्यवाहक समाचार प्रमुख तोकिएको छ। श्रेष्ठ हालसम्म डेपुटी न्यूज एडिटर थिए।
पौडेलले करिब एक वर्षअघि मात्र सम्पादकीय नेतृत्व सम्हालेका थिए। तर, खेलकर्मीको लेखिएको एक अनवेरिफाइड रिपोर्टको कारण उनको सम्पादकीय जिम्मेवारी गुमेको हो।