काठमाडाैं, नेपालमा भएको जेन जी आन्दोलनका घटना बारे छानबिन गर्न सरकारले गठन गरेको जाचबुझ आयोग नै यतिबेला विवादका परेको छ । जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले एक्समा सार्वजनिक गरेका धारणालाई लिएर यतिबेला सामाजिक सञ्जालमा प्रश्न उठेको छ भने उनको पनि आलोचना बढेको छ । विशेष अदालतका पूर्वअध्यक्ष समेत रहेका कार्कीले जेनजी युवा आन्दोलनको पक्ष लिँदै राजनीतिक दलका नेताहरूविरुद्ध लगातार लेखेका थिए ।
उनका फेसबुक र एक्सका स्टाटसका स्क्रिनसटहरु यतिबेला सामाजिक सञ्जालहरुमा भाइरल भैरहँदा उनी विवादमा पनि तानिएका छन । कतिपय वरिष्ठ कानुन व्यवसायी तथा अन्य विभिन्न पेशामा आवद्ध नागरिकहरूले कार्कीले आन्दोलनकै क्रममा पक्षधरता देखाएकाले उनको नेतृत्वमा हुने छानबिनको निष्पक्षतामाथि आशंका व्यक्त गरेका छन्। सरकारले जेन–जी आन्दोलनमा भएको दमन र भोलिपल्ट भएको आगजनी तथा तोडफोडको घटनाबारे विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो ।
आयोगको सदस्यमा पूर्व एआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी छन्। उनीहरूलाई तीन महिनाभित्र कारबाहीको सिफारिस सहित प्रतिवेदन बुझाउन भनिएको छ। असोज ५ मा बसेको मन्त्रिपरिषद् बैठकले आन्दोलनको क्रममा राज्यपक्षबाट भएको दमन तथा आन्दोलनको क्रममा भएको आगजनी, प्रहरीका हतियार लुटपाट, हत्यालगायतका सबैखाले घटनाको छानबिनको जिम्मा आयोगलाई दिएको छ। आन्दोलनमा भएको सरकारी दमन, सरकारी तथा निजी सम्पत्तिमा भएको तोडफोड र आगजनी लगायतका विषयमा सत्यतथ्य पत्ता लगाई त्यसमा संलग्नहरूको भूमिका किटान गरी दोषीमाथि कारबाहीको सिफारिस गर्ने जिम्मेवारी आयोगलाई छ । आयोगले कारागारभित्र भएको हुलदंगा र १० हजार भन्दा बढी कैदी फरार भएको विषय समेत छानबिन गर्नेछ ।
असोज १२ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, तत्कालीन राष्ट्रिय अनुसन्धान विभाग प्रमुख हुतराज थापा र काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको पासपोर्ट रोक्का गर्ने र आयोगको स्वीकृति बेगर काठमाडौं उपत्यका बाहिर जान पनि रोक लगाउन सरकारलाई सिफारिस गरेको थियो । कार्कीले जेनजी आन्दोलनका क्रममा सामाजिक सञ्जाल एक्समा लेखेका थिए, ‘कसैलाई पनि भाग्न दिनुहुँदैन। केपी ओली हेलिकप्टरबाट भागे भन्ने हल्ला चलेको छ। पूर्वप्रधानमन्त्री केपी ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड लगायत पूर्वमन्त्री, सांसद एवम् पदाधिकारी कसैलाई पनि विदेश जान र भाग्न दिनुहुँदैन। उनीहरूलाई थुनामा राखेर अनुसन्धान गरिनुपर्छ। विमानस्थल बन्द गरिनुपर्छ। निजी हेलिकप्टर चलाउन दिनुहुँदैन। भारतीय र चिनियाँ सीमा बन्द गरिनुपर्छ। कसैलाई पनि भाग्न नदिई थुनामा राख्नुपर्छ।’