Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

नक्कली भुटानी शरणार्थी प्रकरण पुनः खुलेपछि ठूला नेताहरू अनुसन्धानको घेरामा

नक्कली भुटानी शरणार्थी प्रकरण पुनः खुलेपछि ठूला नेताहरू अनुसन्धानको घेरामा

काठमाडौं, गृहमन्त्री ओम प्रकाश अर्यालको निर्देशनपछि नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल खुलेको छ। निकै उच्चपदस्थ राजनीतिक व्यक्तिहरु जोडिएको यो प्रकरणले फेरि गति लिन थालेको छ। कांग्रेस सभापति शेर बहादुर देउवाको पत्नी आरजु राणा पनि यस प्रकरणमा मुछिएकी छिन्। यसभन्दा अघि का सरकारले उनीमाथि अनुसन्धान गर्न डराएका थिए। सत्ता र शक्तिको आडमा विभिन्न राजनीतिक दलका नेताहरूले छुट पाएका थिए।

तत्कालीन ओली नेतृत्वको सरकारले यस प्रकरणमा आरजु सहितका केही नेतालाई जोगाएपछि निकै विरोध भएको थियो। साथै भुटानी शरणार्थीको अनुसन्धान गर्ने प्रहरीलाई पटक–पटक ओली सरकारले सरुवा गर्दै दुख दिएको थियो। अधुरो अनुसन्धानमै ‘टुंगिएको’ भनिएको नक्कली भुटानी शरणार्थीसम्बन्धी प्रकरणमा प्रहरी फेरि सक्रिय भएको हो। सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले पुराना भ्रष्टाचारका फाइलहरू खोल्ने निर्णय गरेको छ।

गृहमन्त्री ओम प्रकाश अर्यालले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) को निरीक्षणका क्रममा राजनीतिक आग्रहमा बन्द गरिएका कतिपय अनुसन्धान पुनः गर्न निर्देशन दिएपछि प्रहरीले उक्त प्रकरणको पूरक अनुसन्धान सुरु गरेको पाइएको हो।

यसै प्रकरणलाई लिएर प्रहरीले आरजुका भाइको घरमा पनि छापा मारेको छ। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने घटनाको अनुसन्धानका क्रममा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण, मन्त्री टोपबहादुर रायमाझी, गृहसचिव टेकनारायण पाण्डे सहितको संलग्नता भेटिएको थियो।

केही दिनअघि CIB प्रमुखको जिम्मेवारीमा पठाइएका AIG डा. मनोजकुमार केसीले २०७९–२०८० सालमा उक्त घटनाको अनुसन्धान गरेका थिए। उनी त्यसबेला CIB मै कार्यरत थिए।

उनी नेतृत्वको अनुसन्धानपछि कारबाही सिफारिस गरिएकामध्ये ३० जनाका विरुद्ध मुद्दा चलेको थियो। मुद्दा दायर भएपछि पूर्वगृहमन्त्री खाँण वैशाख २७ गते पक्राउ परेका थिए। पक्राउ पूर्जी जारी भएपछि फरार रहेका अर्का पूर्वमन्त्री टोपबहादुर रायमाझी वैशाख ३१ गते काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ परेका थिए। तत्कालीन गृहसचिव टेकनारायण पाण्डे २० गते पुरानो सिनामंगलबाट पक्राउ परेका थिए।

उनीहरू विरुद्ध ठगी, किर्ते, राज्यविरुद्धको अपराध र संगठित अपराधको मुद्दामा कूल २८ करोड ८१ लाख रुपैयाँ बिगो दाबी गरिएको थियो। ३० प्रतिवादीमध्ये खाँण, रायमाझी, पाण्डेसहित १६ जनालाई पुर्पक्षका लागि केन्द्रीय कारागार जगन्नाथ देवल, सुन्धारा चलान गरिएको थियो। त्यसमध्ये खाँण २०८१ मंसिर २८ गते रिहा भएका थिए।