काठमाडौं, नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुईन खोलामा आज दिउँसो फेरि सुक्खा पहिरो खसेको छ, जसका कारण सडक दुवै तर्फबाट पूर्ण रूपमा अवरुद्ध भएको छ।
डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी कृष्ण आचार्यका अनुसार पहिरो दिउँसो १२ बजे खसेको हो र यसले सडकको झण्डै ७० मिटर क्षेत्रमा अवरोध पुर्याएको छ। अहिले पनि पहिरो झर्ने क्रम जारी रहेको बताइएको छ।
पहिरो हटाउनका लागि दुईवटा डोजर परिचालन गरिएको भए पनि निरन्तर ढुंगा-माटो झरिरहेकाले सफाइ कार्यमा कठिनाइ भएको छ।
गत हप्ता पनि यही स्थानमा खसेको पहिरोका कारण ४८ घण्टासम्म सडक अबरुद्ध भएको थियो, जसले यात्रुहरूलाई ठूलो सास्ती भएको थियो।
प्रशासनले यात्रा गर्नुअघि जानकारी लिन र वैकल्पिक मार्ग प्रयोग गर्न सवारी चालक तथा यात्रुहरूलाई अनुरोध गरेको छ।