Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

हर्क साम्पाङ्गले खोलेको पार्टीको चुनाव चिन्ह माटोको ढिस्को

हर्क साम्पाङ्गले खोलेको पार्टीको चुनाव चिन्ह माटोको ढिस्को

काठमाडाैँ, धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले नयाँ राजनीतिक दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्। उनले ‘श्रम संस्कृति पार्टी’ नामक दल दर्ताका लागि आयोगमा असोज ७ गते नै औपचारिक रूपमा निवेदन दर्ता गराएका हुन्। आयोगले उक्त निवेदन प्राप्त भइसकेको र हाल अध्ययनको प्रक्रियामा रहेको जानकारी दिएको छ। साम्पाङले आफू अध्यक्ष रहने गरी दल दर्ताका लागि प्रस्ताव पेश गरेका छन्।  साम्पाङले चुनाव चिन्ह ‘माटोको ढिस्को’ प्रस्ताव गरेका छन् । उनले दिएको  निवेदनमाथि राजनीतिक दल दर्ता सम्बन्धी ऐन तथा नियमावली अनुसार आवश्यक प्रमाण पुगे/नपुगेको अध्ययन भइरहेको र हेरेर निर्णय लिने बताइएको छ ।

२०७९ सालको स्थानीय चुनावमा साम्पाङ लौरो चुनाव चिन्ह लिएर धरान उपमहागरको मेयर लडेका थिए । निर्वाचन आयोगमा अहिलेसम्म दर्ता भएका १२२ दलमध्ये कुनै पनि दलको चुनाव चिन्ह माटोको ढिस्को नभएकाले साङपाङले प्रस्ताव गरेको चुनाव चिन्ह नै कायम हुने सम्भावना बढी छ । स्वतन्त्र उम्मेदवारको रूपमा धरानको मेयर पदमा निर्वाचित भएका साम्पाङले राजनीति तथा सामाजिक परिवर्तनमा श्रम, सेवा र पारदर्शिता मूल आधार हुनुपर्ने मान्यता राख्दै नयाँ पार्टीको तयारी गरेका हुन्।

नयाँ दलको उद्देश्य जनताको प्रत्यक्ष सहभागिता, स्वावलम्बन र श्रमको सम्मानमार्फत समावेशी विकास र सुशासन प्रवद्र्धन गर्नु रहेको बताइएको छ। धरानको खानेपानी समस्या समाधानका लागि आफ्नै अगुवाइमा श्रमदान गर्दै आएका साम्पाङले जनताको साथ र सहभागितालाई प्राथमिकता दिँदै आएको छ। मेयर पदमा निर्वाचित भएपछि उनले कुनै राजनीतिक दलको झन्डा नउचालीकन जनतासँगै सडक, पानीको पाइपलाइन, ढल व्यवस्थापन लगायतका काममा हातेमालो गर्दै आएका छन्। यही शैली र सोचलाई संस्थागत रूप दिनका लागि उनले ‘श्रम संस्कृति पार्टी’ को घोषणा गर्न लागेका हुन्।

पछिल्लो समयमा लोकप्रिय रहेका साम्पाङले राजनीतिक विकल्पका रूपमा स्वतन्त्रता, इमानदारी, जनहित र प्रत्यक्ष सहभागितामूलक राजनीतिको अभ्यास गर्नुपर्ने धारणा राख्दै आएका छन्। दलिय राजनीति प्रतिको व्यापक जनआक्रोश र विश्वासको खडेरीका बीच उनले स्थापीत दलहरूबाट अलग एक ‘पारदर्शी र श्रममुखी’ पार्टीको अवधारणा अघि सारेका छन्। स्रोतका अनुसार, आयोगमा दर्ता प्रक्रियापछि आवश्यक कागजात तथा प्रमाण बुझाउने काम भइरहेको छ । यदि आयोगले अनुमोदन गर्यो भने आगामी दिनमा ‘श्रम संस्कृति पार्टी’ औपचारिक रूपमा नेपाली राजनीतिको एक नयाँ विकल्पका रूपमा उदाउने अपेक्षा समेत गरिएको छ ।