काठमाडौं, कांग्रेस सभापति शेरबहादुर देउवाको घरमा भेटिएका पैसाका बारेमा ‘सिधाकुरा’ ले गरेको स्थलगत रुपमा रिपोर्टिङ गर्दै तयार पारेको भिडिओलाई हटाउन भन्दै धम्कीपूर्ण मेसेज आएको छ । ’सिधाकुरा’ लाई बिभिन्न नाम गरेका आईडिबाट धम्कीपूर्ण म्यासेज आईरहेका छन् । मेसेजमा अपशब्द प्रयोग गर्दै “दुई दिन भित्र मार्छु”, “आफ्नो सुरक्षा खोज्नुपर्छ भने खोज” लगायतका धम्की आईरहेका छन । जेन–जी आन्दोलनका क्रममा २४ भदौमा आगजनी भएपछि शेरबहादुर देउवाको घरमा पुगेर सिधाकुराले स्थलगत रुपमा रिपोर्ट तयार पारेको थियो । सिधा कुराले आफनो युटुवमा देउवा र आरजुको घरमा अकुत कालोधन कति छ ? र देउवाको घरमा कालो धन ? शिर्षकमा जलेको घरमै पुगेर भिडियो तयार पारेको थियो ।
भिडियोमा छर्लङ पैसाका जलेका बिटाहरु भेटिएका थिए । र अहिले सोही पैसाको सम्पत्ति शुद्धिकरण बिभागले पनि अनुसन्धान गर्न थालेपछि कांग्रसे भित्रका केही मान्छेहरुबाट धम्कीपूर्ण म्यासेज आएको पाइएको छ । सिधाकुराको मेसेन्जरमा ‘सानू भाइ’ नामक फेसबुक प्रयोगकर्ताले उक्त धम्कीपूर्ण मेसेज पठाएका हुन् । उक्त देउवाको घरमा पैसा भेटिएको उक्त भिडिओ एआईबाट एडिट गरेर राखिको भन्दै तत्काल हटाउन ती प्रयोगकर्ताले धम्की दिएका हुन् । आफ्नो धम्कीको बेवास्ता गरेमा सिधाकुराको कार्यालयमा नै आगजनी गर्ने सम्मको धम्की मेसेजमा दिइएको उल्लेख छ । उक्त भिडिओको रिपोर्टिङ सिधाकुराका कार्यकारी सम्पादक नवीन ढुङ्गानाले गरेका हुन् । उक्त भिडिओ हटाउने धम्की आज बिहान (९ असोज) आएको कार्यकारी सम्पादक ढुङ्गानाले बताए ।
धम्कीपूर्ण मेसेज विरुद्ध प्रहरीको साइबर ब्युरो र नेपाल पत्रकार महासङ्घमा निवेदन दिने तयारीमा रहेको बताईएको छ। यता जेनजी आन्दोलनका क्रममा नेताहरूको घर जलाउँदा भेटिएका भनिएका नोटहरूको अनुसन्धान गरेर मुचुल्का उठाइएको छ । अहिले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र तत्कालीन ऊर्जामन्त्री दिपक खड्काको निवासमा जलेका भनिएका नोट र जलेको घरको मुचुल्का उठाएर अनुसन्धान थालेको छ । विभागले सभापति देउवाको बुढानिलकण्ठस्थित निवासमा जलेका नोटको नमूना संकलन गरेको छ भने खुमलटारस्थित अध्यक्ष दाहालको डेरामा पनि नमूना संकलनको काम सुरु गरि अनुसन्धान गरेका छ । यस्तै पूर्वमन्त्री खड्काको घरमा जलेका नोटको पनि नमूना संकलन गरिएको छ।
विभागको टोलीले देउवा, दाहाल र खड्काको जलेको घरमा पुगेर मुचुल्का कागज खडा गरी अनुसन्धान अघि बढाएको हो । टोलीले तीनै जना नेताहरूको घरबाट जलेका नोटका केही टुक्रा र वरपरबाट खरानी संकलन गरेको छ । सामाजिक सञ्जालमा भाइरल भइरहेका भिडिओमा प्रचण्ड निवासमा नोट जलेको भनेर देखाइएको घटनास्थलको हो कि होइन भनेर विभागले मुचुल्का उठाएको छ ।