काठमाडौं, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हाल विकसित नयाँ परिस्थितिका कारण साम्राज्यवाद र दलाल पुँजीवादविरुद्ध राष्ट्रिय आन्दोलनलाई पार्टीको मुख्य राजनीतिक एजेन्डा बनाउनुपर्ने आवश्यकता औँल्याएका छन्। बिहीबार राजधानीको प्रज्ञा भवनमा सुरु भएको केन्द्रीय समिति बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमार्फत प्रचण्डले यस्तो धारणा राखेका हुन्।
एक नेताका अनुसार, प्रचण्डले देशलाई अहिले क्रान्ति र प्रतिक्रान्तिको दोसाँधमा उभिएको भन्दै वस्तुगत विश्लेषण र आत्मसमिक्षाबाट नयाँ रणनीति तय गर्नुपर्ने बताएका छन्।
राजनीतिक प्रतिवेदनमा प्रचण्डले भदौ २३–२४ गतेको जेनजी आन्दोलनप्रति समर्थन जनाउँदै राज्यले आन्दोलनमाथि गरेको दमन र प्रतिक्रियावादी शक्तिहरूको संलग्नताले भयावह परिणाम ल्याएको उल्लेख गरेका छन्। उनले आन्दोलनका मागहरू वैध भए पनि त्यसलाई प्रतिगामी रूप दिन खोजिएको आरोप लगाए।
बैठकमा प्रचण्डले मंसिरमा विशेष महाधिवेशन आयोजना गर्ने प्रस्ताव पेश गरेका छन्। त्यसअनुसार, हालको केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रूपान्तरण गर्ने प्रस्ताव गरिएको छ। उनले जेनजी पुस्तालगायत युवा वर्गको अधिकतम सहभागिता सुनिश्चित गरिने स्पष्ट पारे।
यस्तै, आगामी फागुन २१ गते तोकिएको आम निर्वाचनलाई समयमै सम्पन्न गर्नुपर्नेमा उनले जोड दिए। निर्वाचन तयारीलाई महाधिवेशनसँगै अघि बढाइने र उम्मेदवार चयनमा युवा पुस्ता तथा नयाँ अनुहारलाई प्राथमिकता दिने बताए।
प्रचण्डले समाजवादी मोर्चाभित्र रहेका दलहरूसँग एकता र ध्रुवीकरणको प्रक्रिया अघि बढिरहेको जानकारी दिँदै, संविधान र लोकतन्त्रको रक्षा गर्ने सवालमा अन्य शक्तिसँग पनि सहकार्य गर्न तयार रहेको बताए। उनले भने, “विशेष महाधिवेशनअघि नै एकता महाधिवेशनको अवस्था आउन सक्छ।”
प्रचण्डले पार्टी नेतृत्वदेखि स्थानीय तहसम्म सांस्कृतिक र संस्थागत रूपान्तरणको खाँचो रहेको भन्दै, जनअपेक्षा अनुसार कार्यशैली बदल्न आवश्यक रहेको निष्कर्ष निकाले।