काठमाडौं, नयाँ शक्ति पार्टी (नेसपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अध्यक्ष पदबाट राजीनामा दिए पनि आफू राजनीति नछोडेको स्पष्ट पारेका छन्। आज राजधानीमा पत्रकार सम्मेलन गर्दै उनले नयाँ पुस्तालाई नेतृत्वमा ल्याउन आफू पदबाट अलग भएको बताए।
“म कुनै आन्दोलनबाट टाढिएको होइन,” उनले भने, “देशमा वैकल्पिक शक्ति निर्माणको अभियानमा म हिजो पनि थिएँ, आज पनि छु, र भोलि पनि रहनेछु।”
डा. भट्टराईले जेनजी विद्रोहलाई नेपालको मौलिक र न्यायसंगत आन्दोलन भएको बताए। यद्यपि, उनले चेतावनी दिए कि यो आन्दोलनलाई परिवर्तन नचाहने यथास्थितिवादीहरू र बाह्य शक्तिहरूले कमजोर बनाउन खोजिरहेका छन्।
उनले आसन्न निर्वाचनअघि भ्रष्ट नेताहरूमाथि कारबाही गर्नुपर्ने माग गरे। “नत्र फेरि त्यही भष्ट्र पात्रहरू निर्वाचित भएर आउँछन्,” उनले भने।
भट्टराईले पुराना सरकार ढले पनि देशमा सत्ता संरचना नढलेको जिकिर गर्दै, अबको निर्वाचन प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख प्रणालीबाट मात्र सम्भव हुने बताए। अन्यथा, उनले भने, “जेनजी युवाको बलिदान खेर जान सक्छ।”
त्यसैगरी, डा. भट्टराईले फेरि दोहोर्याउँदै भने, “पुराना र भष्ट्र भइसकेका दलहरूलाई कुनै पनि हालतमा टाउको उठाउन दिनु हुँदैन।” उनका अनुसार, अब देशको नेतृत्व नयाँ र वैकल्पिक शक्तिहरूले लिनुपर्छ, किनभने पुराना दलहरूबाट सुधारको सम्भावना समाप्त भइसकेको छ।
यदि परिवर्तन चाहिन्छ भने, उनले भने, “पुराना पार्टीभित्रका नेताहरू आफैँ विद्रोह गर्नुपर्ने बेला आएको छ।”