काठमाडौं, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू पदको लोभी नभएको स्पष्ट पारेका छन्। राजधानीको प्रज्ञा भवनमा बिहीबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै उनले यस्तो धारणा राखेका हुन्।
एक केन्द्रीय सदस्यका अनुसार, प्रचण्डले हालको राजनीतिक परिस्थिति जटिल, विकराल र गम्भीर रहेको बताएका छन्। उनले भने, “आज जे देखिँदैछ, त्यसलाई शब्दले बयान गर्न पनि गाह्रो भइरहेको छ। यस्तो अवस्थामा आन्दोलनलाई सुदृढ बनाउने लक्ष्यसहित विशेष महाधिवेशनसम्म जानुपर्ने देखिन्छ।”
नेतृत्व हस्तान्तरणबारे पछिल्लो समय भइरहेको छलफललाई उल्लेख गर्दै प्रचण्डले आफू कुनै पदमा जबर्जस्ती टाँसिइरहन चाहँदैनन् भन्ने बताएका छन्। “नेतृत्व हस्तान्तरण प्रक्रियामार्फत हुनुपर्छ भन्ने पक्षमा म छु। म पदमा टाँसिने मान्छे होइन,” उनले भने।
उनका अनुसार, जेनजेड आन्दोलनपछि शीर्ष तहमै नेतृत्व हस्तान्तरणको बहस चुलिँदो छ, र संविधान दिवसको सन्देशमा समेत प्रक्रियागत ढंगबाट निष्कर्षमा पुग्नुपर्ने धारणा व्यक्त गरिसकेको उनले बताए।
यसै क्रममा, प्रचण्डले हालको केन्द्रीय समिति विघटन गर्ने प्रस्ताव पनि बैठकमा पेस गरेका छन्। बिहीबार प्रज्ञा भवनमा सुरु भएको केन्द्रीय समिति बैठकमा उनले अध्यक्षसहित सबै पदाधिकारीहरू रहने कमिटीलाई विघटन गर्ने प्रस्ताव अघि सारेका हुन्।
पार्टी स्रोतका अनुसार, विशेष महाधिवेशनतर्फ जान प्रस्ताव गरिएको छ र सो प्रस्ताव पार्टीका पदाधिकारी तथा स्थायी समिति बैठकबाट पारित भइसकेको हो। केन्द्रीय समितिले अनुमोदन गरेमा अहिलेको संरचना पूर्ण रूपमा विघटन हुनेछ।