काठमाडौं, राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा निर्वाचनको तयारीस्वरूप मतदाता नामावली ऐन, २०७३ मा संशोधन गर्न अध्यादेश जारी गरेका छन्।
राष्ट्रपतिले संविधानको धारा ११४(१) अनुसार मन्त्रिपरिषद्को सिफारिसमा मतदाता नामावली ऐन संशोधनसम्बन्धी अध्यादेश जारी गरेका हुन्। निर्वाचन तयारीका क्रममा देखिएको कानुनी जटिलता हटाउन यो अध्यादेश आवश्यक भएको सरकारको तर्क छ।
अध्यादेशमार्फत ऐनको दफा ४ को उपदफा २(२) मा रहेको व्यवस्था संशोधन गरिएको छ। पूर्ववर्ती प्रावधानअनुसार, “निर्वाचनको मिति घोषणा भइसकेपछि त्यस निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गरिने छैन” भन्ने व्यवस्था थियो।
यही व्यवस्था कारण निर्वाचन आयोगले नयाँ मतदाताहरूको नामावली दर्ता गर्न नपाएको गुनासो उठ्दै आएको थियो। आयोगका स्रोतअनुसार, यस्तो अवरोध हटाउन अध्यादेशमार्फत कानुनी बाटो खुलाइएको हो।