काठमाडौँ, मधेस प्रदेशमा राजनीतिक समीकरण फेरिन थालेको छ। नेपाली कांग्रेसले आज जनकपुरमा बसेको संसदीय दलको बैठकमार्फत् प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेको छ।
संसदीय दलका नेता कृष्णप्रसाद यादवका अनुसार अब कांग्रेसले सरकारमा बसिरहनु आवश्यक नरहेको निष्कर्ष निकालेको छ। “जनमत पार्टीको नेतृत्वमा बनेको सरकारलाई हामीले समर्थन गरेका थियौं, तर जनमत आफैंले समर्थन फिर्ता लिएपछि हामीले निरर्थक रूपमा कसैलाई समर्थन दिन मिल्दैन,” यादवले भने।
प्रदेश सांसद अञ्जना पण्डितका अनुसार कांग्रेसले समर्थन फिर्तासँगै नयाँ सरकार गठनका लागि प्रयास सुरु गर्ने निर्णय पनि गरेको छ। उनले सबै सम्भाव्य दलहरूसँग संवाद अघि बढाउने जानकारी दिइन्।
गत भदौ २४ गते भएको जेनजी आन्दोलनपछि मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा दिने घोषणा गरेका थिए। तर त्यसपछि उनले आफ्नो अडान परिवर्तन गर्दै राजीनामा नगर्ने र संसद्को सामना गर्ने घोषणा गरेका छन्।
जनमत पार्टीले भने भदौ ३१ गते सिंहसहित आफ्ना मन्त्रीहरूलाई सरकारबाट फिर्ता गर्दै औपचारिक समर्थन फिर्ता गरिसकेको छ। त्यसपछि एमालेले मुख्यमन्त्री सिंहलाई विश्वासको मत दिन सक्ने संकेत दिँदै आएको थियो।
यस अवस्थामा कांग्रेसको समर्थन फिर्ताले प्रदेश सरकारको बहुमतमा प्रश्न खडा भएको छ। अब नयाँ सत्ता समीकरणको खोजी सुरु भएको देखिन्छ।