Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सिराहामा बालकको अपहरणपछि हत्या : प्रहरीद्वारा आठ जना नियन्त्रणमा

सिराहामा बालकको अपहरणपछि हत्या : प्रहरीद्वारा आठ जना नियन्त्रणमा

काठमाडौं, सिराहाको गोलबजार नगरपालिका–१३ भेल्हा डंगराहामा एक १५ वर्षीय बालकको अपहरणपछि हत्या भएको घटनामा संलग्न आशंकामा प्रहरीले आठ जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ परेकामध्ये मृतकका आफन्त र छिमेकीसमेत रहेको प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय, सिराहाका अनुसार संजय सिंहका छोरा अभिषेक सिंह आइतबार रातिदेखि बेपत्ता भएका थिए। खोजी गर्दा नभेटिएपछि सोमबार बिहान करिब ८ बजे अभिषेकको मोबाइलबाट आमाको फोनमा फिरौती मागिएको सन्देश आएको थियो। हिन्दी भाषामा पठाइएको उक्त सन्देशमा ५ करोड रुपैयाँ माग गरिएको थियो।

सन्देशमा चेतावनी दिइएको थियो :
‘तुमहारा आदमी हमारे पास है। अगर तुम्हारा आदमी सही सलामत चाहिए तो ५ करोड रुपये हमें दो। अगर पुलिस को बताया, तो उसे मार देंगे। हम बिहार से हैं।’

प्रहरीले बालकको शव मंगलबार बिहान घरभन्दा केही पर रहेको आँपको बगैंचामा फेला पारेको हो। प्रहरी निरीक्षक धर्मेशकुमार यादवका अनुसार शव भेटिएपछि अनुसन्धान थप तीव्र पारिएको छ। घटनास्थल र शवको अवस्था हेर्दा नजिककै कोही संलग्न हुन सक्ने आशंकामा प्रहरीले बालकका आफन्त र छरछिमेकलाई नियन्त्रणमा लिएको हो।

हाल घटनाको अनुसन्धान भइरहेकोले पक्राउ परेका व्यक्तिहरूको नाम सार्वजनिक गरिएको छैन।

प्रहरी स्रोतका अनुसार प्रारम्भिक अनुसन्धानमा फिरौती माग्ने शैली, शवको स्थान र संलग्नता रहेको देखिएकाले घटना योजनाबद्ध भएको देखिन्छ। स्थानीयवासी र परिवारजन त्रसित छन् भने सुरक्षाका लागि घटनास्थल वरपर प्रहरी गस्ती बढाइएको छ।