काठमाडाैं, मुग्लिन–नारायणगढ सडकखण्ड आज दिउँसो केही समयका लागि बन्द गरिने भएको छ। तुइन खोला पुलको नजिक खसेको पहिरो अझै पूर्णरूपमा हट्न बाँकी रहेकाले दिउँसो १ बजेदेखि ३ बजेसम्म सवारी आवागमन रोकिनेछ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार पहिरो पन्छाउने अन्तिम चरणको कामका लागि दुई घण्टा सडक पूर्णरूपमा बन्द गर्न लागिएको हो।
तुइन खोला आसपास गत शुक्रबार ठूलो पहिरो जाँदा करिब ४० घण्टा सडक पूर्णरूपमा अवरुद्ध भएको थियो, जसका कारण यात्रुहरु लामो समयसम्म बाटोमै अलपत्र परेका थिए। आइतबार साँझबाट एकतर्फी सवारी सञ्चालन सुरु गरिए पनि, रातको समयमा जोखिम देखिएपछि आइतबार राति ९ बजेदेखि सोमबार बिहान ५ बजेसम्म फेरि सडक बन्द गरिएको थियो।
हाल बिहानको समयसम्म पनि तुइन खोला पुल नजिकको खण्डमा मात्र एकतर्फी सवारी चलिरहेको छ, जबकि अन्य भागहरूमा दुवै दिशाबाट सवारी सुचारु छन्। दशैं नजिकिँदै जाँदा घर फर्किने यात्रुको संख्या बढ्न थालेकाले बाँकी पहिरो हटाएर सडक पूर्ण रूपमा खुलाउने तयारी गरिएको छ।
सडक बन्द र अव्यवस्थित लेनको कारणले गर्दा सवारी चाप अत्यधिक भएको छ र केही ठाउँमा जाम समेत देखिएको छ।
यही कारण ट्राफिक प्रहरी र सडक डिभिजन कार्यालयले सवारी चालकहरूलाई लेन अनुशासन पालना गर्न र सहकार्यपूर्वक यात्रा गर्न आग्रह गरेका छन्।