काठमाडौं, प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिमन्त्रिपरिषद्मा जेन जीको तर्फबाट सुदन गुरुङ, रक्षा बम र बब्लु गुप्ता बन्ने चर्चा चलेको छ । जेनजी आन्दोलनकारी मध्येबाट कसलाई मन्त्री बनाउने भन्नेमा शुक्रबार वालुवाटारमा लामै छलफल चलेको पाईएको छ । जसमा जेनजी आन्दोलनको अगुवाई गर्दै हिडेका सुदन गुरुङ आफैँले पनि मन्त्री बन्ने चाहना राखेको विषय सार्वजनिक भएको छैन । गुरुङले आफ्नो समूहमा यो विषयबारे जानकारी नगराएको समेत बताइएको छ ।
शुक्रबार भएको छलफलमा जेनजीको तर्फबाट रक्षा बम र बब्लु गुप्ताको बारेमा छलफल भएको विषय बाहिर आएको हो । उनीहरुका बारेमा छलफल चलको र बम र गुप्ताले मानेको खण्डमा एक/दुई दिनमै मन्त्रिपरिषद् विस्तार हुने भएको हो । प्रधानमन्त्री निकट स्रोतका अनुसार ११ जना मन्त्री बनाउने तयारी रहेको छ। मन्त्री बनाउनुपर्ने परिस्थिति सिर्जना भएमा अरु चार थपेर पन्ध्र सदस्यीय बनाउने जनाइएको छ।
प्रधानमन्त्री कार्कीले सोमबारसम्ममा मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेकी छन् । प्रधानमन्त्री कार्कीले विभिन्न पेशा, व्यवसायमा आबद्ध ब्यक्तिहरूसँग छलफल गरेको भए पनि जेन–जीका प्रतिनिधिसँग सहमति हुन नसक्दा मन्त्रिपरिषद् बिस्तारमा ढिलाइ हुँदै आएको छ । कार्कीले मन्त्री बनाउन चाहेका व्यक्तिहरुले पद नै अस्विकार गर्दा पनि मन्त्रीपरिषद्ले पुर्णता पाउन सकेको छैन । मन्त्रिपरिषद्मा जानेहरूको नाममा सहमति नजिक पुगेको जनाउँदै आज या भोलि सोमबारसम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको जनाएको हो ।
जेन जीहरुको आन्दोलनले सरकार ढलेपछि कार्की नेतृत्वमा अन्तरिम सरकार गठन भएको हो । मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेकी प्रधानमन्त्री कार्की विभिन्न व्यक्तिहरूसँग छलफलमा छिन्। छलफलका क्रममा न्यायिक क्षेत्रमा कलम चलाउने केही पत्रकारहरूसँग पनि सुझाव मागेकी थिइन्। यही छलफलका क्रममा प्रधानमन्त्री कार्कीले महावीर पुनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बन्न प्रस्ताव गरेको स्रोतको दाबी छ। भदौ २७ गते प्रधानमन्त्रीमा नियुक्त पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले तीन सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेकी थिइन्।
प्रधामन्त्री कार्कीले मन्त्रिपरिषद् कार्यालयमै रहने गरी पत्रकार अजयभद्र खनालको नेतृत्वमा विज्ञ टिम निर्माण गर्न लागेकी छिन्। खनाल द हिमालयन टाइम्सका पूर्वसम्पादक हुन्। सो टिममा गोविन्दनारायण तिमिल्सिना पनि रहने छन्। तिमिल्सिना उज्ज्वल थापा फाउन्डेसनका उपाध्यक्ष हुन्। यसैगरी प्रधानमन्त्री कार्कीले विशेष अदालतका पूर्व अध्यक्ष एवं पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने तयारी गरेकी छिन्।