काठमाडौँ । आज संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइँदैछ । वर्तमान संविधान घोषणाको एक दशक पुरा भएको छ । संविधानसभाबाट नेपालको संविधान, २०७२ साल असोज ३ गते आजकै दिन घोषणा भएको थियो । २०७२ साल असोज ३ गते तत्कालीन राष्ट्रपति डा। रामवरण यादवले संविधान जारी भएको घोषणा गरेका थिए । संविधान दिवस–२०८२ लाई आज विभिन्न कार्यक्रम गरी देशभर मनाइँदैछ राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा आज बिहान सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम आयोजना गरिएको गृहमन्त्रालयका सहसचिव ऋषिराम तिवारीले जानकारी दिनुभयो । समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्नुहुनेछ ।
सरकारले देशको परिवर्तीत राजनीतिक उपलब्धिको संरक्षण गर्ने मूल कानुन ‘संविधान’ जारी भएको दिनलाई देशव्यापी रुपमा मनाउन आह्वान गरेको छ । यसैबिच यता जेन जीको एउटा समूहले माइतीघरमा शान्तिपूर्ण प्रदर्शन गर्ने भएको छ । नेपालको संविधान २०७२ को रक्षार्थ प्रदर्शन गर्न लागिएको एक सदस्यले बताए । संविधान दिवसको अवसरमा माइतीघर, मण्डलामा जेन जीहरूले प्रदर्शन गर्ने भएका हुन् ।उनका अनुसार अब मुलुकको निकास विद्यमान संविधानबाटै खोजिनुपर्ने भन्दै प्रदर्शन गर्न लागिएको हो ।यो संविधानभन्दा बाहिर जानलाई आफूहरूले आन्दोलन नगरेको ती सदस्यले बताए । साथै निर्धारित मितिमै अहिलेको अन्तरिम सरकारले निर्वाचन गराउनुपर्ने पनि यो समूहको माग छ । भोलि असोज ३ गते संविधान दिवस हो । बिहान ११ प्रदर्शन हुनेछ ।
यता संघीय लोकतान्त्रिक मोर्चाले असोज ३ लाई कालो दिनका रुपमा मनाउने भएको छ । संघीय लोकतान्त्रिक मोर्चाका केन्द्रिय सचिवलाय संयोजक डा। शिवजी यादवले एक विज्ञप्ति जारी गर्दै सो नयाँ संविधान २०७२ जारी भएको दिनलाई कालो दिनका रुपमा मनाउने निर्णय भएको जनाएको हो । मोर्चाले सोही सामूहिक रुपमै कालोपट्टी बाँधी संविधानको विरोध गरी प्रदर्शन गर्नेसमेत निर्णय गरेका छ ।डा। यादवद्वारा जारी सो विज्ञप्तिमा संविधानमा मधेशको असहमति रहँदा बाबजुद पनि राज्यले मधेशीमाथि दमन गरी सो संविधान जारी गरेको उल्लेख गरिएको छ ।२०७२ असोज ३ गते संविधान जारी भएको दिन मधेशका सपुतको छातीमा गोली ठोकी जबर्जस्ति एकतर्फी रुपमा संविधान लाद्ने काम भएको र आन्दोलनको मर्म र भावना विपरीत अपूर्ण र अधुरो संविधान जारी गरिएको मोर्चाको ठहर छ ।
साथै, जेनजीको क्रान्ति पछि निर्माण भएको सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रको मूल मान्यताअनुरुप समानुपातिक समावेशीता अनुसार अघि बढ्ने सुझाएको छ । असोज ३ लाई सरकारले संविधान दिवसको रुपमा धुमधामका साथ मनाउने गरेको छ भने सो दिन देशैभरि सार्वजनिक बिदासमेत दिइने गरेको छ । संविधान कार्यान्वयनपछिको अवस्था, उपलब्धि, कमीकमजोरी, झेल्नुपरेका समस्यालगायतका विषयमा बहस, छलफल तथा अन्तरक्रिया हुने भनिएकोमा पछिल्लो आन्दोलनबाट जनधनको क्षति तथा विषम अवस्थाले त्यस्ता कार्यक्रम नहुने भएका छन् । संविधान घोषणाको एक दशकलाई उत्सवका रुपमा मनाउन अघिल्लो सरकारले गएको भदौ ८ मा मूल समारोह समिति गठन गरेको थियो । तर भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएको थियो ।