Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

चुनाव निर्धारित समयमा हुनैपर्छ : प्रचण्ड

चुनाव निर्धारित समयमा हुनैपर्छ : प्रचण्ड

काठमाडौं, माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आगामी निर्वाचन तोकिएको मितिमा सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन्। उनले लोकतान्त्रिक अभ्यासलाई मजबुत बनाउने र देशलाई अस्थिरताको गर्तमा जान नदिने उपायको रूपमा समयमै चुनाव आवश्यक रहेको बताएका छन्।

बिहीबार सार्वजनिक गरिएको भिडियो सन्देशमार्फत, प्रचण्डले अन्तरिम सरकारलाई असफल बनाउने प्रयासहरू सुरु भइसकेको र चुनाव अवरोध गर्न सकिने सम्भावनाहरू देखिएको चेतावनी दिए। उनले भने,“देश र जनताविरुद्धका षड्यन्त्रहरू अझै समाप्त भएका छैनन् । चुनाव हुन नदिने, मुलुकलाई अस्थिरतातिर लैजाने रणनीति अनुरूपका गतिविधिहरू हुन सक्छन्। त्यसैले हामी चाहन्छौं  निर्वाचन तोकिएको समयमा शान्तिपूर्वक सम्पन्न होस्।”

प्रचण्डले पार्टीले विगतमा केही कार्यगत कमजोरीहरू देखाएको स्वीकार गर्दै, नीति र विचारमा गल्ती नभए पनि व्यवहारमा त्रुटि भएको स्वीकार गरे। उनले भने, “हामी सुधारको प्रक्रियामा छौं। पार्टी र नेतृत्व दुवैलाई समयसापेक्ष बनाउन आवश्यक छ।” साथै, पार्टीभित्र नेतृत्व हस्तान्तरणको विषयमा आन्तरिक छलफल सुरु भइसकेको जानकारी पनि उनले दिए।

सरकारको नेतृत्व गर्दा कुनै राष्ट्रघाती सम्झौता नगरेको र भ्रष्टाचारविरुद्ध निरन्तर संघर्ष गरिरहेको दाबी गर्दै उनले भने, “तर, जनताले जुन अपेक्षा गरेका थिए, त्यसको तुलनामा हामी पछाडि परेकाछौं भन्ने कुरा स्वीकार्न हामी तयार छौं।”

प्रचण्डले आफ्नो सम्बोधनमा संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षामा अडिग रहनुपर्नेमा जोड दिंदै, यसप्रति कुनै विचलन देशलाई समाधान होइन, संकटतर्फ लैजान सक्ने चेतावनी दिए। “लोकतन्त्रको विकल्प फेरि लोकतन्त्र नै हो अझ परिष्कृत र जवाफदेही लोकतन्त्र,” उनले स्पष्ट पारे।

अन्तमा, उनले चुनाव रोक्ने वा अन्तरिम सरकारलाई असफल बनाउने सम्भावित योजनाहरूविरुद्ध सचेत रहन सबै लोकतान्त्रिक शक्तिहरूलाई एकजुट हुन आह्वान गरे।