काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले जेनजी आन्दोलनबाट उत्पन्न परिस्थितिको फाइदा उठाउँदै केही व्यक्तिहरू तथा समूहहरूले पार्टीलाई बदनाम गर्ने गतिविधि गरिरहेको आरोप लगाएको छ।
पार्टीका प्रवक्ता मनिष झाले आज एक विज्ञप्ति जारी गर्दै यस्ता गतिविधिहरू गम्भीर प्रकृतिका भएको बताएका छन्। विज्ञप्तिमा भनिएको छ कि रास्वपा र पार्टीसँग सम्बन्धित व्यक्तिहरूको नाम दुरुपयोग गर्दै निजी क्षेत्रका उद्योगी, व्यवसायी, न्यायालय तथा उच्च पदस्थ कर्मचारीहरूलाई डर, त्रास र धम्कीपूर्ण टेलिफोन तथा सन्देश पठाउने कार्य भएको जानकारी पार्टीमा आएको छ।
प्रवक्ता झाले यस्ता कार्यमा पार्टीको कुनै संलग्नता नरहेको प्रष्ट पार्दै, “संलग्न जो कोहीमाथि आवश्यक छानबिन र कानूनी कारबाहीका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँछौँ,” भनेका छन्।
उनले पार्टीको नाममा गैरजिम्मेवार र अवाञ्छित गतिविधि हुने हो भने त्यसले न केवल पार्टीको साखमा आँच पुर्याउने, तर राजनीतिक वातावरणलाई नै दूषित बनाउने खतरा रहने बताएका छन्।
रास्वपाले आम जनसमुदायलाई यस्ता भ्रामक गतिविधिबाट सतर्क रहन पनि आग्रह गरेको छ।