काठमाडौं, प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालबीच मंगलबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भेटवार्ता भएको छ ।
अध्यक्ष दाहालको सचिवालयका अनुसार उनले नवनियुक्त प्रधानमन्त्री कार्कीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।
भेटमा प्रधानमन्त्री कार्की र अध्यक्ष दाहालले देशको पछिल्लो राजनीतिक अवस्था र विकसित घटनाक्रमबारे विस्तृत छलफल गरेका थिए । सो अवसरमा अध्यक्ष दाहालले राष्ट्रिय सभाको कामकारबाही, वर्तमान अवस्था तथा बानेश्वरस्थित संघीय संसद भवन र सिंहदरबारस्थित संसद सचिवालयमा भएको क्षतिको बारेमा जानकारी गराएका थिए ।
प्रधानमन्त्री कार्कीले राष्ट्रिय सभाको भूमिकालाई अत्यन्तै महत्वपूर्ण भन्दै देशलाई शान्ति र स्थिरतातर्फ लैजान सबै पक्षले सहकार्य गर्नुपर्ने आवश्यकता औंल्याएकी थिइन्। उनले हालको राष्ट्रिय संकटलाई समाधान गर्न राजनीतिक दलहरूबीच सहमति र समन्वय अपरिहार्य रहेको बताउँदै साझा प्रयासमार्फत अघि बढ्न आग्रह गरेकी थिइन् ।
भेटवार्ताले राजनीतिक सहकार्य र संस्थागत समन्वयमार्फत देशका जटिल समस्याहरू समाधान गर्न सकिने विश्वास व्यक्त गरेको थियो ।