काठमाडौँ । इन्स्पेक्टरदेखि आईजीपीसम्मको तलब कटाएर ज्यान गुमाएका प्रहरीका परिवारलाई १० लाख दिइने भएको छ । प्रहरी प्रधान कार्यालयले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रहरीका परिवारलाई १० लाख रुपैयाँ दिने निर्णय गरेको छ । प्रहरी प्रवक्ता विनोद घिमिरेले जारी गरेको सूचनाका अनुसार उनीहरुलाई आईजीपीदेखि प्रहरी निरीक्षकसम्मको तलब कट्टा गरेर उक्त राहत रकम दिन लागिएको हो ।
आन्दोलनका क्रममा ३ जना प्रहरीको ज्यान गएको र ४ दर्जनभन्दा बढी प्रहरी घाइते भएको प्रहरीले जनाएको छ। घाइतेमध्ये केहीको अवस्था अझै गम्भीर रहेको र उनीहरूको उपचारका लागि समेत प्रहरी संगठनले आवश्यक सहयोग गरिरहेको छ।प्रहरी प्रधान कार्यालयले विज्ञप्तिमार्फत शहीद प्रहरीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ। साथै, आन्दोलनका क्रममा देखाइएको सुरक्षाकर्मीहरूको आत्मबल र कर्तव्यनिष्ठाप्रति संगठनले उच्च प्रशंसा गरेको छ।प्रहरी संगठनले शहीद प्रहरी परिवारलाई आवश्यक थप सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता जनाएको छ। विज्ञप्तिमा भनिएको छ, “नेपाल प्रहरी सदैव आफ्नो सदस्य र परिवारको सुरक्षा, सहयोग र सम्मानमा प्रतिबद्ध रहन्छ। यस कठिन घडीमा संगठन शहीद परिवारसँगै छ।”
यसअघि पनि विभिन्न समयमा ड्युटीका क्रममा ज्यान गुमाएका प्रहरीका परिवारलाई तलब कट्टा, कल्याणकारी कोष वा सरकारकै तर्फबाट सहयोग प्रदान गर्ने प्रचलन रहँदै आएको छ। यसपटकको आन्दोलनमा प्रहरीमाथि भएको प्रहारलाई संगठनले ‘गहिरो पीडा’को रूपमा लिएको छ र यसलाई ऐक्यबद्धतापूर्वक सामना गर्ने घोषणा गरेको छ। यस्तै सरकारले आन्दोलनमा ज्यान गुमाएका व्यक्तिका परिवारलाई १५ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।