Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

प्रधानमन्त्री सुशिला कार्की भन्छिन म रहरले आएको हैन

प्रधानमन्त्री सुशिला कार्की भन्छिन म रहरले आएको हैन

काठमाडौँ, नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आफूले प्रधानमन्त्रीको जिम्मेवारी स्वेच्छाले नभई परिस्थिति बाध्यताले सम्हाल्नुपरेको स्पष्ट पार्नुभएको छ। आइतबार सिंहदरबारमा पदभार ग्रहण गरेपछि आयोजित कार्यक्रममा कर्मचारी, सुरक्षाकर्मी र अन्य उपस्थितलाई सम्बोधन गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो।

उहाँले देशमा बढ्दो भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाहलाई प्रभावकारी बनाउने र नयाँ पुस्ताको आकांक्षाअनुसार शासन प्रणाली अगाडि बढाउने आफ्नो प्राथमिकता रहेको बताउनुभयो।
प्रधानमन्त्री कार्कीले भनिन्, ‘यो मेरो व्यक्तिगत चाहना होइन, सडकदेखि विभिन्न स्थानबाट जिम्मेवारी लिनुहोस् भन्ने आवाज आयो। म बाध्य भएर यो ठाउँमा आएकी हुँ, सत्ताको रमझम खोज्न होइन ।’

जनजीवन प्रभावित बनाउने हालैको आन्दोलनको चर्चा गर्दै उहाँले आन्दोलनका क्रममा २७ घण्टाभित्र देशले ठूलो जनधनको क्षति व्यहोर्नुपरेको जानकारी दिइन्। प्रहरी चौकी, अदालतदेखि सिंहदरबारसम्म आगलागीका घटनाबाट नष्ट भएको उल्लेख गर्दै उहाँले प्रमाण र रेकर्डको नाशले थप चुनौती सिर्जना भएको बताइन्।
‘भौतिक संरचना फेरि निर्माण गर्न सकिन्छ, तर प्रमाण गुम्दा हामी शून्यमा पुग्छौं,’ उहाँको भनाइ थियो।

उहाँले सुरक्षा निकायलाई लक्षित गरी योजनाबद्ध रुपमा हिंसात्मक गतिविधिहरू भएको बताउँदै अब सुरक्षा वाहन खरिद गर्नैपर्ने स्थिति आएको बताइन्। पछिल्ला दृश्यहरूले आफूलाई नेपाली भएर लाज लागेको महसुस भएको भन्दै यस्तो कार्य गर्नेहरूलाई नेपाली भन्न नसकिने धारणा राख्नुभयो।

‘यदि यस्ता कार्यहरू नेपालीले नै गरेका हुन् भने, त्यो चिन्ताको विषय हो। सबै मिलेर मुलुकको पुनर्निर्माणमा लाग्नुपर्छ,’ उहाँले आग्रह गरिन्।

प्रधानमन्त्री कार्कीले घटनामा षड्यन्त्रको आशंका पनि व्यक्त गर्दै घटनाको अनुसन्धान हुने र दोषी उम्कन नसक्ने स्पष्ट गरिन्।
‘जसले जे गरे पनि छानबिन अवश्य हुन्छ,’ उहाँले भनिन्।

उहाँले आगामी ६ महिनाभित्र सबैलाई समेटेर राष्ट्रिय पुनर्निर्माणमा लाग्ने र त्यसपछि निर्वाचित प्रतिनिधिहरूलाई सत्ता सुम्पिने योजना सुनाइन्।
‘जननिर्वाचित सरकारलाई जिम्मेवारी सुम्पने अठोट लिएको छु,तर यो सबै तपाईंहरूको साथबिना सम्भव छैन । सहयोगको अपेक्षा राखेकी छु ।’ प्रधानमन्त्री कार्कीले भनिन् ।

तराई क्षेत्रमा बाँसका भाटा जोडेर अस्थायी संरचना निर्माण गर्ने सुझाव दिँदै उहाँले नेपालीहरूमा पुनर्निर्माण गर्ने अद्भुत क्षमता रहेको स्मरण गराइन्।

अन्त्यमा, प्रधानमन्त्री कार्कीले देशमाथि चुनौती सिर्जना गर्ने आपराधिक गतिविधिको सामूहिक प्रतिवाद गर्दै एकताको आवश्यकतामा जोड दिइन्।