काठमाडौँ । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गर्दै हुनुहुन्छ । आज बिहान ११ बजे प्रधानमन्त्री कार्कीले सिंहदरबारको पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा पदबहाली गर्ने कार्यक्रम तय गरिएको हो । जसलको लागि नयाँ प्रधानमन्त्री कार्कीलाई स्वागत गर्न सरकारी उच्च कर्मचारीलाई बिहानै बोलाइएको छ । प्रधानमन्त्रीका लागि कार्यकक्ष तयार भइरहेको छ । प्रधानमन्त्री कार्की अस्ति शुक्रवार बेलुकादेखि नै प्रधानमन्त्री निवास बालुवाटारमा बस्न थालिसक्नुभएको छ ।
शुक्रबार शपथग्रहण कार्यक्रम लगत्तै पदभार ग्रहणको तयारी गरिए पनि शपथमै ढिलाइ भएपछि पदभारको कार्यक्रम रोकिएको थियो । शुक्रबार बिहान मुख्यसचिव एकनारायण अर्याल लगायतका कर्मचारीले नयाँ प्रधानमन्त्रीलाई उपयुक्त कार्यालय खोजेका थिए। उनीहरूले गृह मन्त्रालय परिसरमा सोही मन्त्रालयका लागि बनाइएको नयाँ भवन प्रधानमन्त्रीको कार्यालय बनाउन उपयुक्त भएको ठहर गरेका थिए। नयाँ भवनको सरसफाइ, आन्तरिक सजावट तथा अन्य व्यवस्थापन भइसकेको छ। प्रधानमन्त्री कार्यालयका अनुसार पुरानो मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयमा आगजनी हुँदा नजलेका र जोगिएका सरसामान प्रधानमन्त्रीको नयाँ कार्यालयमा लगेर प्रयोग गरिएको छ । नयाँ भवनको सरसफाइ, आन्तरिक सजावट तथा अन्य व्यवस्थापन भइसकेको छ । पूर्वप्रधानन्यायाधीश कार्की शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो ।
उहाँले आजसम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्नुभएको छ । त्यसका लागि पनि आन्तरिक छलफल र भेटघाट चलिरहेको छ । यो प्रकृयामा सघाउन जेन–जी ले विभिन्न अनलाइन प्लेटफर्ममार्फत् सुझाव सङ्कलन गरिरहेका छन् । कार्की नेतृत्वको सरकारले आउँदो फागुनमा प्रतिनिधि सभाको चुनाव गराउने कार्यादेश पाएको छ । संसद् विघटन भइरहेको छ ।