काठमाडौं। शीतल निवासले नयाँ प्रधानमन्त्रीको स्वागतका लागि गृह मन्त्रालयलाई तयारी गर्न निर्देशन दिएको छ। आज बिहान गृह मन्त्रालयका सम्बन्धित कर्मचारीहरूलाई औपचारिक रूपमा स्वागत कार्यक्रमको तयारी थाल्न भनिएको हो।
स्रोतका अनुसार, अन्तरिम सरकारको नेतृत्व पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई दिनका लागि प्रमुख राजनीतिक दलहरू नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र)—र राष्ट्रपति रामचन्द्र पौडेलबीच सहमति बनेको छ। सोही सहमतिको आधारमा गृह मन्त्रालयलाई तयारी थाल्न भनिएको बताइएको छ।
यद्यपि, संविधानले तोकेको प्रक्रिया अनुसार अन्तरिम सरकार गठनको विधि स्पष्ट नभएकाले त्यसतर्फ अझै प्राविधिक र कानुनी निकास निकाल्नु बाँकी रहेको मन्त्रालयका अधिकारीहरूले जनाएका छन्।
बिहीबार राति शीतल निवासमा आयोजित विशेष बैठकमा राष्ट्रपति पौडेलले कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरूलाई कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठनको प्रस्तावबारे जानकारी गराएका थिए। सो बैठकपछि उच्च स्रोतहरूले सुचीला कार्की प्रधानमन्त्री बन्ने निश्चितजस्तै भएको संकेत दिएका छन्।