काठमाडौं । काठमाडौंमा मंगलबार बिहानदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको छ। स्थानीय प्रशासनले सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै चक्रपथ क्षेत्रभित्र चार किल्ला तोकेर कर्फ्यु आदेश जारी गरेको हो।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क बमोजिम मंगलबार बिहान साढे ८ बजेदेखि अर्को सूचना जारी नभएसम्म लागू हुने गरी कर्फ्यु आदेश जारी गरेका हुन्।
सूचनामा उल्लेख भएअनुसार, कर्फ्यु अवधिभर चक्रपथ भित्र कुनै पनि व्यक्ति वा समूहलाई सडकमा निस्कन, आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ जस्ता कुनै पनि गतिविधि गर्न नपाइनेछ।
कर्फ्यु आदेश लागू भएका क्षेत्रहरू
बालकुमारी पुलदेखि कोटेश्वर चोक
सिनामंगल, गौशाला, चाबहिल
नारायणगोपाल चोक, गोंगबु, बालाजु
स्वयम्भू, कलंकी, बल्खु हुँदै बागमती नदी पुलसम्म
कर्फ्यु आदेशको पालना गर्न सबैलाई अनुरोध गर्दै प्रशासनले अत्यावश्यक सेवा सञ्चालकहरूका लागि भने छुट दिएको छ। जसमध्ये एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मी तथा सञ्चारकर्मीहरू, पर्यटक सवारीसाधन, मानवअधिकार तथा कुटनीतिक नियोगका सवारी साधनहरू, साथै हवाई यात्राका लागि टिकट देखाएर यात्रा गर्ने यात्रुहरूको लागि सुरक्षाकर्मीको सहयोगमा आवतजावत सहज गराइनेछ।
सुरक्षालाई ध्यानमा राख्दै प्रशासनले कर्फ्यु आदेशको पूर्ण पालना गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।