काठमाडौं,राजधानीको बानेश्वर क्षेत्र फेरि तनावग्रस्त बनेको छ। सोमबार साँझ पुनः प्रदर्शन चर्किएपछि प्रहरीले गोली प्रहार गरेको छ, जसमा तीन जना सर्वसाधारण घाइते भएका छन्।
प्रहरीले तीन राउण्ड गोली प्रहार गरेको पुष्टि भएको छ। घाइतेमध्ये दुई जनालाई तुरुन्तै एभरेस्ट अस्पताल लगिएको छ भने एक जनालाई एम्बुलेन्समार्फत अस्पताल लैजाने तयारी भइरहेको छ।
बानेश्वर क्षेत्र दिनभरजसो तनावग्रस्त रहँदै आएको थियो। केही समयअघि मात्रै सेनाले उक्त क्षेत्रलाई नियन्त्रणमा लिए पनि अवस्था शान्त हुन सकेन।
सुरक्षा बलले गल्लीमा पसेर समेत प्रदर्शनकारीलाई लखेट्ने प्रयास गरे पनि अवस्था नियन्त्रणमा आउन सकेको छैन। अहिले पनि बानेश्वर क्षेत्र व्यापक रूपमा सुरक्षाकर्मीहरूको घेरामा छ, र स्थिति थप बिग्रिन सक्ने सम्भावना देखिएको छ।