झापा — झापाको दमकस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवासमा आइतबार अपराह्न ढुंगामुढा भएको छ। दमक–९ शान्ति मार्गस्थित निवासमा प्रदर्शनकारी समूहले एक्कासि ढुंगा प्रहार गरेका थिए।
ढुंगा प्रहारपछि स्थिति तनावपूर्ण बनेपछि सुरक्षाकर्मीहरूले भीड तितरबितर पार्न केही राउन्ड हवाइ फायरसमेत गरेका छन्। हाल घटनास्थलमा प्रहरीको बाक्लो उपस्थिति छ भने सुरक्षाव्यवस्था कडा पारिएको छ।
यसैबीच, काठमाडौंको बालकोटस्थित ओली निवासतर्फ अगाडि बढिरहेका प्रदर्शनकारीलाई प्रहरीले मनोहरा पुलबाटै फर्काएको छ। करिब २ सयको संख्यामा रहेको जुलुस ओली निवास घेराउ गर्ने उद्देश्यले अघि बढेको थियो।
प्रदर्शनको कारण र समूहको पहिचानबारे थप विवरण आउन बाँकी छ। यद्यपि, दुवै घटनाले प्रधानमन्त्री ओलीविरुद्ध चुलिँदो असन्तुष्टि र जनदबाबलाई संकेत गर्छ।