Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

मन्त्रीको गाडीले ठक्कर दिएर उद्धार नगरी भागेपछि आलोचना,कारबाहीको माग

मन्त्रीको गाडीले ठक्कर दिएर उद्धार नगरी भागेपछि आलोचना,कारबाहीको माग

काठमाडौँ । शनिबार बिहान ललितपुरको हरिसिद्धिमा ११ वर्षीया बालिका उषा मगर सुनुवारलाई कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर (राना) को सरकारी गाडीले ठक्कर दिएर भागेपछि सवारी तथा यातायात ऐनअनुसार कडा कारबाहीको माग चुलिएको छ।

एमालेको विधान महाधिवेशनमा सहभागी हुन आएका मन्त्री मगर सवार को १ झ ६९९ नम्बरको गाडीले ललितपुर महानगरपालिका–२८ स्थित हरिसिद्धि माध्यमिक विद्यालयअगाडि बालिकालाई बिहान करिब ७:१५ बजे ठक्कर दिएको हो। गम्भीर घाइते बालिकाको बीएन्डबी अस्पतालमा उपचारपछि अवस्था सामान्य भएपछि सोही दिन डिस्चार्ज गरिएको छ।

प्रत्यक्षदर्शीहरूका अनुसार बालिका जेब्राक्रसिङ नजिकबाट बाटो काट्ने क्रममा तीव्र गतिमा आएको गाडीले ठक्कर दिएको थियो। बालिका सडकमा पछारिए पनि गाडी रोकिएन। त्यसपछि एक मोटरसाइकलमा सवार महिलाले बालिकालाई सडकबाट उठाएर अस्पताल पुर्‍याएको स्थानीय अनिल महर्जनले जानकारी दिए।

घटनास्थलबाट मन्त्रीको गाडी तत्काल भागेपछि स्थानीयबासी आक्रोशित बनेका थिए। केही समय सडक अबरुद्धसमेत भएको थियो। सर्वसाधारणले मन्त्रीजस्तो जिम्मेवार व्यक्तिको गाडीबाट यस्तो गैरजिम्मेवार व्यवहार देखिएको भन्दै आलोचना गरेका छन्।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख श्यामकृष्ण अधिकारीले मन्त्री सवार गाडीलाई गोदावरीबाट नियन्त्रणमा लिइएको जानकारी दिए।

राजनीतिक टिप्पणी र आलोचना

एमालेको विधान महाधिवेशनका कारण उक्त दिनको कार्यक्रम ढिलो भएको थियो। सोही अधिवेशनमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले घटनाप्रति टिप्पणी गर्दै भने —
“सामान्य रूपमा एक बच्चीलाई गाडीले छोयो । अस्पताल लगिसकियो । यस्तो कुनै नियत थिएन । पार्टीले बच्चीको सम्पूर्ण उपचार खर्च बेहोर्छ । घटनाप्रति दुःख व्यक्त गर्दछु । कहिलेकहिले यस्ता अप्रिय घटना हुन्छन्, भइदियो ।”

प्रधानमन्त्रीको यस्तो टिप्पणीलाई धेरैले गैरजिम्मेवार ठानेका छन्। सडकमा दुर्घटनापछि उद्धार नगरी गाडी भाग्नु सवारी ऐन अनुसार गम्भीर अपराधमा पर्छ। विशेषतः सरकारी जिम्मेवारी बोकेको व्यक्तिको सन्दर्भमा यस्तो घटना भएपछि उद्धार गर्नु र आत्मसमर्पण गर्नु नैतिक र कानुनी दुवै हिसाबले आवश्यक मानिन्छ।

बालिकाको स्वास्थ्यमा सुधार आएको छ र अस्पतालबाट डिस्चार्ज गरिएपछि मन्त्री रामबहादुर मगर दिउँसो अस्पताल पुगेर बालिकाको अवस्था बुझ्न गएका थिए। एमालेले उपचार खर्च व्यहोर्ने जनाएको छ, तर जनस्तरमा भने दोषीलाई कारबाहीको माग बढ्दो छ।