काठमाडौं । नेपाल र चीनबीचको संयुक्त सैन्य अभ्यास ‘सगरमाथा मित्रता अभ्यास’ आजबाट सुरु भएको छ। नेपाली र चिनियाँ सेनाबीचको यो पाँचौं संस्करणको सैन्य अभ्यास हो, जसमा विपद् व्यवस्थापन र मानवीय सहायता जस्ता महत्वपूर्ण विषयमा आपसी तालिम र ज्ञान आदानप्रदान गरिनेछ।
नेपाली सेनाका प्रवक्ता ब्रिगेडियर जनरल राजाराम बस्नेतले जानकारी दिएअनुसार, अभ्यास १० दिनसम्म काठमाडौंमा सञ्चालन हुनेछ। अभ्यासको उद्देश्य प्राकृतिक विपद्का बेला दुवै देशका सुरक्षाकर्मीबीच सहकार्य र समन्वयलाई सशक्त बनाउनु हो।
नेपालमा चीनसँगको संयुक्त सैन्य अभ्यास आयोजना भएको यो तेस्रोपटक हो। पहिलोपटक २०७४ साल वैशाखमा नेपालमै अभ्यास भएको थियो। त्यसपछिको संस्करण २०७५ मा चीनको छेन्दु शहरमा र २०७६ मा पुनः नेपालमै सम्पन्न भएको थियो। कोभिड–१९ महामारीका कारण केही वर्ष अभ्यास रोकिएको थियो।
नेपाली सेनाले चीनमात्र होइन, भारत, अमेरिका लगायत विभिन्न देशहरूसँग पनि नियमितरूपमा संयुक्त सैन्य अभ्यास गर्दै आएको छ। सैन्य अभ्यासमार्फत आपसी समझदारी, सहकार्य र क्षेत्रीय स्थायित्वमा टेवा पुग्ने विश्वास गरिएको छ।