काठमाडौँ । कर्तव्य पालनका क्रममा (ड्युटीमा) मा खटिएका नेपाल प्रहरीका नायब निरीक्षक (सई) धन बहादुर थापाको निधन भएको छ । इलाका प्रहरी कार्यालय मोतिपुर बर्दिया दरबन्दी भएपनि हाल वडा प्रहरी कार्यालय नेपालगन्जमा कार्यरत रहेका थापाको हृदयघातका कारण निधन भएको हो ।
नेपालगन्ज बजारमा ड्युटी गर्न खटिएका थापाको आज बिहान हृदयघातका कारण निधन भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । ड्युटीमा रहका थापा हृदयघात भएर एक्कासी ढलेपछि उनलाई अस्पताल पु¥याइए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
मिलनसार र संगठनप्रति कर्तव्यनिष्ठ सई थापा रोल्पाका स्थानीयवासी हुन भने हाल उनी नेपालगञ्ज उपमहानगरपालिका वडा नं ४ मा बस्दै आएका थिए । थापाको शव यतिबेला भेरी अञ्चल अस्पतालमा राखिएको छ । आजै अन्त्येष्टि गर्ने भनिएपनि विदेशमा रहेकी छोरी आउन ढिला हुने भएपछि भोली अन्त्येष्टि गरिने बताइएको छ ।